निर्वाचनमा बुथ क्याप्चर भए कर्मचारीलाई कारबाही


चिरञ्जीवी मास्के, दोलखा
निर्वाचन आयुक्त सुधीर शाह र इला शर्माले दोलखाको गौरीशङ्कर गाँउपालिका १ जुँगुमा भएको घट्नाको स्थलगत अध्ययन गर्नुभएको छ।

जुँगुमा वैशाख २६ गते राति माओवादी केन्द्रका कार्यकर्ताहरूले एमालेको तर्फबाट गौरीशङ्कर गाँउपालिका १ को वडा सदस्यको उम्मेदवार गोरे तमाङको छोरा कुलबहादुर तमाङको हत्या गरेको थियो।

एउटा होटलमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका नेता पूर्व राज्यमन्त्री देवी खड्काको नेतृत्वको समूहले कुलबहादुर तमाङ र दिलबहादुर बुढाथोकीलाई खुकुरी, लठ्ठी, भाला प्रहार गरी कुटपिट गरेको र तमाङको मृत्यु भएको एमाले दोलखाले जनाएको छ। मृतका बुबा गोरे तमाङले माओवादी केन्द्रका नेता देवी खड्का, विशाल खड्का, गंगा कार्कीलगायत ३९ जनाको नाममा कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।

स्थानीय प्रशासनले घट्नामा संलग्न रहेको आशंकामा ८ जनालाई पक्राउ गरेको छ भने अन्य आरोपिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार (आज) हेलिकप्टरबाट घट्नास्थल पुगेर फर्कनुभएको निर्वाचन आयुक्त शाह र शर्माले सदरमुकाम चरिकोटमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै घट्ना दुःखद भएको बताउनुभयो। निर्वाचन आयुक्त शाहले निर्वाचन आयोगले जुँगु घट्नालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुहुँदै दोलखामा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो।

निर्वाचनको बेला बुथ क्याप्चर हुने र निर्वाचन बिथोलिने अवस्था आए कर्मचारीहरूलाई कारवाही हुने निर्वाचन आयुक्त शाहको भनाइ छ। मतदाता परिचयपत्रका बारेमा केही समस्या रहेको पाईएकाले मतदान हुने दिन वैशाख ३१ गते पनि मतदाता परिचयपत्र लिन सकिने आयुक्त शाहले बताउनुभयो।

आयुक्त शाह र शर्माले शुक्रबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरूसँग समेत छलफल गर्नुभएको थियो।