टर्पेन्टाइन फैक्ट्रीमा आगलागी


सीताराम चौधरी
चन्द्रौटा, (कपिलवस्तु)
पिलवस्तुको शिवराज नगरपालिका–६, गडगौरास्थित गणपति रोजिन एन्ड टर्पेन्टाइन इन्डस्ट्रिज प्रालिमा आगलागी हुँदा अन्दाजी ५० लाखको क्षति भएको छ। फैक्ट्रीको प्लट नम्बर ३ को हिटिङ ट्यांकीको भट्टीमा शुक्रबार दिउँसो २ बजे एक्कासि आगो लागेको हो। आगलागीबाट ३ नम्बर प्लटको ४ वटा भट्टीमा पकाउनका लागि तयार गरिएको खोटो जलेर नष्ट भएको हो। फैक्ट्रीका म्यानेजर जीवनारायण खनालका अनुसार पकाउनका लागि तयार गरिएको झण्डै २० टन माल जलेर नष्ट भएको हो।

दोस्रो तल्लामा रहेको उक्त भट्टीमा आगो लाग्दा त्यहाँ रहेका तयारी मालसमेत जलेको बताइएको छ। साथै आगलागीबाट एउटा मेसिन र टिनको छानो भएको पक्की घरमा समेत ठूलो क्षति भएको फैक्ट्रीका म्यानेजर खनालले बताउनुभयो। सल्लाको खोटो पकाएर आगो निभाएको भए पनि अत्यधिक तापका कारण आगो सल्किएको हुन सक्ने त्यहाँ कार्यरत कर्मचारीको भनाइ छ।

आगलागी भए लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएका नेपाल प्रहरी तथा म्यादी प्रहरीले कच्चा पदार्थ आगो लागेको भवनबाट हटाएका थिए। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक झविन्द्र भट्टराईको कमान्डमा झण्डै ३ दर्जन प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको थियो।
यसै गरी आगो नियन्त्रणमा ल्याउन सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपालप्रसाद श्रेष्ठको कमान्डमा ३५ जना सशस्त्र प्रहरी परिचालन भएका थिए। यस्तै सशस्त्र प्रहरी बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक बीपी कुँवरको नेतृत्वमा समेत झण्डै एक दर्जन सशस्त्र प्रहरी परिचालन भएका थिए।
कृष्णनगरबाट आएको दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए।

यसअघि पनि सोही फैक्ट्रीमा २ पटक आगो लागिसकेको फैक्ट्रीका म्यानेजर जीवनारायण खनालले बताउनुभयो। झण्डै दुई दशकदेखि फैक्ट्रीमा सल्लाको खोटोबाट टर्पेन्टाइन उत्पादन गरिँदै आएको छ।
फैक्ट्री परिसरमै १ सयभन्दा बढी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन्।