मानव मूत्र र ‘पिसनर’ वियरबीच सम्बन्ध


कोपनहेगन, (एजेन्सी)
बियर पारखीहरूका लागि एउटा अनौठो खबर हालै डेनमार्कबाट सार्वजनिक भएको छ। ५० हजार लिटर मानव मूत्र संकलन गरी ६० हजार लिटर बियर बनाइएको छ। रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको उक्त ‘पिसनर’ नाम दिइएको बियर चाख्नेहरूले भने यो निकै स्वादिलो भएको बताएका छन्।

यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो। तर रक्सी उत्पादन गर्ने कम्पनी नोरब्रोले चाहिँ आफूले बनाएको पिसनर बियरमा कुनै पनि मानवीय फोहोरको नमिसाइएको दाबी गरेको छ। मानव मूत्र र बियरको सम्बन्ध भने अनौठो तरिकाले जोडिएको छ।

वास्तवमा पिसनर बियर बनाउन जुन जौं को प्रयोग गरिएको थियो उक्त जौं फलाउनका लागि मलखादका रूपमा उक्त संकलित मानव मूत्रको प्रयोग गरिएको बताइएको छ। सामान्य रूपमा मलखादका रूपमा जनावरको गोबर तथा कारखानाबाट उत्पादित रसायनिक मल प्रयोग गरिने भए तापनि यो बियरका लागि उत्पादित जौंमा मानव मूत्रलाई मलका रूपमा प्रयोग गरिएबाट पिसनर बियर विशेष बन्न पुगेको हो।

दुई वर्षअघि उत्तरी युरोपको सबैभन्दा ठूलो संगीत महोत्सव रोसकिलेमा उक्त मानव मूत्र जम्मा गरिएको थियो। नोरेब्रोका सीईओ हेनरिक वांग भन्छन्, ‘जब हामीले यस तरिकाबाट बियर बनाउने विषयमा जानकारी दियौं तब मानिसहरूलाई लाग्यो की बियरमा सिधै पिसाब हालिनेछ। त्यो सुनेर मानिसहरू निकै दंग परे’।

डेनमार्कको कृषि तथा खाद्य आयोगका अनुसार मानवीय मलमूत्रलाई मलखादका रूपमा यति ठूलो परिमाणमा प्रयोग गरिएको भने पहिलोपटक भएको बताइएको छ। मानव मूत्रलाई मलका रूपमा प्रयोग गरी फलाइएका जौंबाट बनाइएको यो बियर चाख्ने मध्येका एक व्यक्ति एन्ड्रेस स्जोग्रेन पनि हुन्।

उनी उक्त संगीत महोत्सवमा पनि सहभागी भएका थिए। पिसाबको मलले फलेको जौंबाट बनेको बियर निकै स्वादिलो रहेको र यसमा पिसाबको कुनै गन्ध नभएको उनले दाबी गरेका छन्। ५० हजार लिटर पिसाबको प्रयोग गरी जति जौं उत्पादन भयो त्यसबाट ६० हजार लिटर बियर उत्पादन भएको हो।