अमेरिकालाई उत्तर कोरियाको चेतावनीपत्र


सोल, (एजेन्सी)
उत्तर कोरियाले शुक्रबार अमेरिकी प्रतिनिधि सभालाई एक दुर्लभ विरोध पत्र पठाउँदै अमेरिकाको प्योङयाङमाथिको नयाँ कडा नाकाबन्दी प्याकेजले आफूलाई आणविक हातहतियार विकासका लागि झनै उस्काउने चेतावनी दिएको उत्तरको सरकारी समचार निकाय केसीएनएले जनाएको छ।

उत्तर कोरियाको सर्वोच्च जनसभाको हालै पुनर्गठित विदेश मामिला समितिले सो विरोध पत्र पठाएको बताइएको छ। सो पत्रमा अमेरिकी प्रतिनिधि सभालाई उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउनुअघि दुईपटक सोच्न र यदि त्यस्तो कुनै कदम उठाइहालेको खण्डमा परिणाम भयानक हुने कुरा उल्लेख गरिएको छ। उक्त पत्रको एकप्रति केसीएनएले सार्वजनिक गरेको छ।

केही साता यता उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र विकास कार्यक्रलाई लिएर अन्तर्राष्ट्रिय जगत्मा ठूलै तनाव सिर्जना भएको छ। प्योङयाङले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को पस्तावनालाई उल्लंघन गर्दै छैंठो आणविक परीक्षण वा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने सन्त्राय व्याप्त भएको छ।

यसै महिना अमेरिकी प्रतिनिधि सभाले अत्यधिक बहुमतले उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रणका लागि त्यसमाथि थप कडा नाकाबन्दी लगाउने विधेयक पारित गरेको थियो।

उक्त अमेरिकी विधेयकको उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग पुर्याउने आर्थिक आपूर्ति रोक्ने र उत्तरमाथि दास श्रमको प्रयोगलगायतका अन्य मानव अधिकार हनन् हुने खालका कार्यहरू रोक्न थप दबाब दिने उद्देश्य रहेको छ। तर उत्तर कोरियाको उक्त विदेश मामिलासम्बन्धी समितिले भने अमेरिकाको कारवाही प्रयास असफल रहने दाबी गरेको छ।

सो समितिले जतिजति अमेरिकाले हस्तक्षेप गर्न खोज्यो उति नै उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रम फष्टाउँदै जाने पनि जनाएको छ। नब्बे दशकको उत्तराद्र्धमा भंग गरिएको सो समिति गत महिना मात्र ब्युँताइएको हो।

पेशाले वरिष्ठ कूटनीतिज्ञ तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका निकटतम सहयोगी रि सु योङले यस समितिको नेतृत्व सम्हालेका छन्। केही समयअघि मात्र अमेरिकाले कोरियाली प्रयाद्विपमा लडाकू विमान वाहक युद्धपोत पठाउनुका साथै दक्षिण कोरियामा प्रतिक्षेप्यास्त्र भेदक प्रणाली जडान गरेको थियो।