परिचयपत्र वितरण कार्य ७० प्रतिशत सम्पन्न



नेपाल समाचारपत्र,लमजुङ
लमजुङमा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक सबै तयारी पूरा भएको छ। शुक्रबारसम्म जिल्लामा ७० प्रतिशत मतदाताहरूले परिचय पत्र बुझिसकेका छन्।

जिल्लामा निर्धारण गरिएका १ सय ५५ वटै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको निर्वाचन टोली र सुरक्षाकर्मीहरू पुगेर आवश्यक काम गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वैशाख ३१ गते सम्पन्न हुने मतदानका लागि आवश्यक सामग्रीहरू लिएर मतदान अधिकृतहरू सबन्धित सबै मतदान केन्द्रमा पुगेको र बिहीबारदेखि मतदाता परिचयपत्र वितरण शुरू गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो।

उहाँका अनुसार लमजुङमा शुक्रबार ४ बजेको समयसम्म प्राप्त रिपोर्टअनुसार ७० प्रतिशत मतदाताले आफ्नो परिचयपत्र बुझिसकेका छन्। ‘गाउँगाउँमा मतदानका लागि मतदाताहरू उत्साहपूर्वक प्रतीक्षा गरिरहेको अवस्था छ।’ –अधिकारीले बताउनुभयो। उहाँका अनुसार जिल्लामा कुनै पनि अप्रिय घट्ना भएको छैन। स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा स्थितिसहितका सबै प्रकारका आवश्यक तयारी पूरा भएको छ।

लमजुङमा चार नगरपालिका, चार गाउँपालिका छन्। तीनमा १ सय २३ मतदान स्थल र १ सय ५५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा मतदाता संख्या १ लाख ५ हजार ९ सय ९२ रहेको छ। प्रत्येक निर्वाचन केन्द्रमा मतदात अधिकृत, सहायक मतदान अधिकृतसहित ७ जना कर्मचारी ६ जना प्रहरी र ६ जना म्यादी प्रहरीहरू खटिएको अवस्था रहेको छ।

प्रत्येक निर्वाचन क्षेत्रका लागि नेपाली सेवाको गस्ती टोलीसमेत सम्बन्धित क्षेत्रमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्