निर्वाचन बिथोल्न खोज्नेलाई गोली हान्न निर्देशन



निर्वाचन बिथोल्ने प्रयास भए तत्कालै गोली हान्न कसैको आदेश नचाहिने गरी जिल्ला सुरक्षा समितिले निर्णय
गरेको छ।

मोतीराम तिमल्सिना, काभ्रे
बैशाख ३१ गतेको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेलगत्तै मौन अवधिको पालना भए नभएको तथा मतदान केन्द्रको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको टिमले अनुगमन गरेको छ।

नेपाली सेनाको हेलिकोप्टरमा प्रजिअ शिव सिंखडा, विष्णु दल गण धुलिखेलका कर्णेल रामहरि केसीलगायत अनुगमनमा सहभागी भएका थिए। जिल्लाको विकट मानिएका खानिखोला, महाभारत, चौरी देउराली गाउँपालिकालगायतको हेलिकोप्टरबाट अनुगमन गरेको छ। निर्वाचन बिथोल्ने प्रयास भए तत्कालै गोली हान्न कसैको आदेश नचाहिने गरी जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ।

जिल्लाका १३ वटै स्थानीय तहमा २ लाख ३० हजार ८ सय ४९ मतदाताले मतदान गर्न पाउनेछन्। जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिकामा धेरै मतदाता रहेका छन्। बनेपा जनसंख्याका हिसाबले ठूलो नगरपालिका हो भने मतदाताका हिसाबले पनौती ठूलो नगरपालिका रहेको छ। डाँडापारीको खानीखोला गाउँपालिका मतदाताका हिसाबले सबैभन्दा थोरै मतदाता रहेको गाउँपालिका हो।

जिल्ला सुरक्षा समितिको बैठकले अति संवेदनशील मानिएका १० मतदान केन्द्रलाई ४ नेपाल प्रहरी, ४ म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनासहित १५ जनाभन्दा धेरै खटाउने निर्णय गरेको छ भने संवेदनशील मानिएका मतदान केन्द्रहरुमा १२ जना खटाउने निर्णय गरिएको छ। त्यस्तै सामान्य अवस्थामा मतदान केन्द्रलाई ३ प्रहरी, ४ म्यादी, सशस्त्र र नेपाली सेना गरी १० जना खटाउने निर्णय भएको छ। जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा गरी ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। वैशाख १२ गतेसम्ममा सबै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरी काम शुरू भएको छ।

जिल्ला मुख्य निर्वाचन अधिकृत मेदिनप्रसाद पौड्यालका अनुसार जिल्लामा ३ सय ७ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु भइसकेको छ।

गाउँपालिका÷नगरपालिका मतदातासंख्या
खानीखोलामा गाउँपालिकामा ७०३५
चौरीदेउराली गाउँपालिकामा १४५३९,
तेमाल गाउँपालिका १४४२४
धुलिखेल नगरपालिका २०४३०
नमोबुद्ध नगरपालिका २००७०
पनौती नगरपालिका ३१०७८,
पाँचखाल नगरपालिका २३१७८
बनेपा नगरपालिका ३०३७५
बेथाञ्चोक गाउँपालिका ११५६०
भुम्लु गाउँपालिका १२६७९
मण्डन देउपुर नगरपालिका २१६२३
महाभारत गाउँपालिका ८७७५
रोशी गाउँपालिका १५३७३

प्रतिक्रिया दिनुहोस्