स्थानीय मतदाता भन्छन्– महिला मैत्री जनप्रतिनिधि आवश्यक



चिरञ्जीवी मास्के, दोलखा

दोलखाका महिला मतदाताहरुले स्थानीय तहको जनप्रतिनिधले महिलाको समस्यालाई प्राथमीकता दिनुपर्ने र नगर तथा गाउँको विकासको योजना निर्माण गर्नुपर्ने अपेक्षा गरेका छन्।

दोलखा जिरी नगरपालिकाकी ८० वर्षीया वृद्धा कुमारीमाया तामाङ द्वन्द्वका बेला अपाङ्ग भएका छोरा कृष्णबहादुर घिसिङको सहयोगका लागि सदरमुकाम चरिकोटमा बस्दै आउनुभएको छ। २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने थाहा पाएपछि कुमारीमाया मतदान गर्न गाउँ जाने तयारीमा हुनुहुन्छ। वृद्धावस्थाका सबैजनालाई बाँच्न पुग्ने गरी वृद्धभत्ता दिने जनप्रतिनिधि निर्वाचित भए सबै वृद्धवृद्धाको उचित सम्मान हुने उहाँको धारण छ।

अबका निर्वाचित जनप्रतिनिधिले अपाङ्गमैत्री सडक निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ। कुमारीमाया भन्नुहुन्छ– ‘मेरो छोरा जस्ता थुप्रै अपाङ्गहरु छन्, उनीहरुको हेरचाह गर्न सक्नेले चुनाव जितोस्, मेरो आशीर्वाद छ।’

दोलखा भीमेश्वर नगरपालिकाकी मखमली रोक्काको पनि निर्वाचित हुने जनप्रतिनिधिसँग केही अपेक्षा रहेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण सडक पेटीमा बसेर फलफूल व्यापार गर्दै आउनुभएकी मखमलीले शिक्षाको महत्व बुझेर छोरीहरुलाई पढाउनुभएको छ। ‘छोराछोरीलाई जेन तेन पढाएँ, तर योग्यताअनुसारको रोजगारी पाएको छैन’, मखमली भन्नुहुन्छ– ‘अबका निर्वाचित प्रतिनिधिले स्थानीयस्तरमा उद्योग, कलकारखानाको विकास गरी योग्यताअनुसारको सबैलाई रोजगारी दिन सकोस्।’

कालिञ्चोक गाउँपालिकाकी कालिकादेवी सेढाईं पनि मतदानका लागि उत्साहित हुनुहुन्छ। केही समयअगाडि घाँस काट्न जाँदा रूखबाट लडेर गम्भीर घाइते हुँदा राजनीतिक दलका नेता कार्यकर्ताले आफूलाई पुनर्जन्म दिएको कालिकादेवीले बताउनुभयो। कालिका भन्नुहुन्छ– ‘त्यो गुण तिर्नका लागि पनि मैले भोट हाल्नै पर्छ।’ आफू विपन्न भएका कारणले सहयोग पाउँदै आएको बताउनुहुने कालिका गरीब विपन्नलाई नीतिगतरूपमा सहयोग गर्ने र विपन्न महिलाहरुका लागि काम दिन सक्ने नेता निर्वाचित हुनुपर्ने बताउनुहुन्छ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ तार्थलीकी वृद्धा कृष्णकुमारी राउत लामो समयदेखि जनप्रतिनिधि नहँुदा जनताले आफ्नो अधिकार पाउन नसकेको उल्लेख गर्नुहुँदै अब निर्वाचित हुने जनप्रतिनिधिले वृद्धवृद्धा, महिला, विपन्नका लागि राम्रो कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ। ‘अहिले गाउँगाउँमा बाटो पुगेको छ, बिजुली छ’, कृष्णकुमारीले भनिन्– ‘अब गाउँको सबैलाई आम्दानीको बाटो देखाउने जनप्रतिनिधि आवश्यक छ।’

झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मदतदान गर्न दोलखाका वृद्धा, युवायुवतीलगायत आम महिलाहरु निक्कै उत्साहित देखिएका छन्। अब निर्वाचन भएपछि गाउँ ठाउँको विकासका गतिविधिले निकास पाउने, महिला बालबालिका, अपाङ्ग, वृद्धवृद्धाहरुको हकहितका लागि निर्वाचित जनप्रतिनिधिले आफूहरुको अपेक्षाअनुसार काम गर्ने भएकाले निर्वाचनमा मतदान गर्न उत्साहित भएको महिलाहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्