फ्रान्समा इम्यानुयल म्याक्रो राष्ट्रपतिमा विजयी ‘फ्रान्सको इतिहासमा नयाँ अध्याय’


पेरिस, (एजेन्सी)
फ्रान्सको राष्ट्रपति चुनावमा मध्यमार्गी इम्यानुएल म्याक्रोले आफ्ना प्रतिद्वन्द्वी अतिदक्षिणपन्थी नेता मरी ली पेनलाई पराजित गरेका छन्।

आफ्नो जित पक्का भएपछि ३९ वर्षीय म्याक्रोले पेरिसको लुभ्र संग्रहालयअगाडि करिब १५ हजार समर्थकलाई सम्बोधन गरेका थिए। पेरिसमा म्याक्रोको जितको खुसीमा नागरिकहरू सडकमा आर्लेर खुसियाली मनाइरहेका छन्। म्याक्रोले समर्थकहरूलाई भने– ‘यो फ्रान्सको जित हो। यो फ्रान्सको इतिहासको नयाँ अध्याय हो। यो पाना अपेक्षा र नयाँ विश्वासको होस् भन्ने मैले चाहेको छु।’
आफू देशका नागरिकको आक्रोस, चिन्ता र शंकाहरूसँग परिचित रहेको र राष्ट्रपतिका रुपमा पाँच वर्षसम्म आफू फ्रान्सलाई विभाजन गर्ने शक्तिसँग लड्ने म्याक्रोले बताए।

उनले फ्रान्सको एकताको ग्यारेन्टी तथा युरोपको रक्षा तथा समर्थनको पनि प्रतिबद्धता व्यक्त गरे। म्याक्रोले सम्बोधनमा भने– ‘हाम्रो अगाडि धेरै काम छन् र यो भोलिदेखि शुरु हुनेछ। हामीले सार्वजनिक जीवनमा नैतिकता फर्काउनु पर्नेछ। लोकतन्त्रको जीवन शक्ति फिर्ता गर्नुपर्नेछ, हाम्रो अर्थव्यवस्थामा प्राण हाल्नुपर्नेछ, युरोपलाई पुनर्गठित गर्नका लाग सबैलाई स्थान दिनुपर्नेछ र फ्रान्सका सबैलाई सुरक्षा दिनुपर्नेछ।’

उनले चरमपन्थ तथा पर्यावरणमा परिवर्तनसँग पनि लड्ने प्रतिबद्धता व्यक्त गरे। म्याक्रोसँगै उनकी पत्नी ब्रिजित पनि मञ्चमा पुगेकी थिइन्। म्याक्रोले आफ्ना प्रतिद्वन्द्वी मरी ली पेनलाई भोट दिने मतदातालाई सम्बोधन गर्दै आफूले उनीहरूसँग भविष्यमा कट्टरपन्थीलाई भोट दिनुपर्ने कुनै कारण नहोस् भन्ने वातावरणका लागि प्रयास गर्ने बताए।

ली पेनले हार स्विकारे
यसैबीच उनका प्रतिद्वन्द्वी मरी ली पेनले आफ्नो हार स्विकार गर्दै भने– ‘यो ऐतिहासिक र ठूलो नतिजा हो जसमा फ्रान्सका नागरिकले देशभक्त तथा रिपब्लिकन गठबन्धनका नयाँ राष्ट्रपतिको मुख्य विपक्षका रुपमा चयन गरेको छ।’
फ्रान्सको राष्ट्रपति चुनावको पहिलो चरणमै फ्रान्सको राजनीतिमा ठूलो परिवर्तन आएको स्पष्ट भएको थियो। उक्त नतिजाले पुराना पार्टीलाई जनताले अस्वीकार गरेका थिए।

उनले भने– ‘दोस्रो चरणमा राष्ट्रवादी तथा विश्वव्यापीकरणको हिमायतीबीचको प्रतिस्पर्धा थियो। म सबै देशभक्तसँग फ्रान्सको निर्णायक लडाइँको हिस्सा बन्न अपिल गर्छु। आगामी महिनामा फ्रान्सलाई तपाईंको आवश्यकता छ।’