विद्यालय बस दुर्घटनामा ३० जनाको मृत्यु


कारातु, (एजेन्सी)
उत्तरी तान्जानियामा शनिबार बिहान भएको एउटा बस दुर्घटनामा ३० जनाभन्दा बढी व्यक्ति मारिएको र तिनीहरूमध्ये अधिकांश विद्यालयका बालबालिका रहेको सरकारी अधिकारीहरूले आइतबार बताएका छन्।

उक्त बस कारातु शहरनजिकको एउटा सडकबाट खोंचमा खसेको प्रहरीले जनाएको छ। यस घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएका छन्। आरुसास्थित एउटा प्राथमिक विद्यालयका उक्त बसमा राखेर अर्को विद्यालयमा परीक्षा दिन लाँदै गर्दा सो दुर्घटना भएको थियो।

लकी भिन्सेन्ट स्कुलका १२ देखि १४ वर्ष उमेरका ती विद्यार्थीहरूलाई अभ्यास परीक्षाका लागि लगिएको थियो। यस दुर्घटना दुई जना शिक्षकलगायत ड्राइभरको पनि मृत्यु भएको बताइएको छ। राष्ट्रपति जोह्न मागुफुलीले यसलाई राष्ट्रिय क्षतिको संज्ञा दिएका छन्।

उनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यसबाट राष्ट्रलाई अपुरणीय क्षति भएको पनि बताएका छन्। क्षत्रीय प्रहरी आयुक्त चाल्र्स कुम्बाले वर्षको कारण भिरालो सडकमा चिप्लिएर सो बस दुर्घटना भएको हुनुपर्ने रोयटर्सलाई बताएका छन्। तर उनले यान्त्रिक गडबडी वा मानवीय गल्तीको कारण दुर्घटना घटेको हो कि भन्ने बारे पनि अनुसन्धान भइरहेको जनाएका छन्।