सडक सुरक्षा सप्ताह शुरू


नेपाल समाचारपत्र
काठमाडौं
संयुक्त राष्ट्रसंघीय चौथो विश्वव्यापी सडक सुरक्षा सप्ताहको सोमबार शुभारम्भ भएको छ। संयुक्त राष्ट्रसंघ, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं महानगरपालिका, रोटरी क्लब, रोड सेफ्टी सोसाइटी नेपाललगायतका संघ–संस्थाहरूको संयुक्त सहभागितामा माइतीघरमा फुटपाथको प्रयोग गर्दै प्रभातफेरी कार्यक्रमको आयोजना गरी उक्त सप्ताहको शुभारम्भ गरिएको हो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात सचिव भीमबहादुर तामाङले सवारी दुर्घटना रोक्न प्रचलित कानुनी व्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको स्वीकार्दै पैदलयात्रु एवं सवारीचालकहरूको सुरक्षाका लागि सचेतना कार्यक्रमहरूका साथै कडाइका साथ कानुनको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पछिल्लो समय नेपालमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति पनि रहेको बताउनुभयो। हालैका दिनहरूमा नागरिकबाट सडक सुरक्षा अभिवृद्धि गर्ने सन्दर्भमा प्राप्त सकारात्मक सहयोग र समर्थनका लागि उहाँले धन्यवाद व्यक्त गर्नुभयो।

विश्वका सयभन्दा बढी देशहरूमा एकैसाथ मनाइने यस सप्ताहव्यापी कार्यक्रमका बारेमा बोल्दै यूएनडीपीका कन्ट्री डाइरेक्टर रेनड मेयरले सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई कम गर्नु अहिलेको प्राथमिकता भएको र संयुक्त राष्ट्रसंघको तर्फबाट सडक सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण कदम चालिएको सन्दर्भलाई जोड्नुभयो।

उक्त कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव महानिरीक्षक मिङ्मार लामा, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूलगायत सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।
वैशाख २५ देखि ३१ गतेसम्म सप्ताहव्यापीरूपमा मनाइने सो सडक सुरक्षा सप्ताहमा नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिने जनाइएको छ।