‘कांग्रेस एकढिक्का’


काठमाडौं (नेस)
नेपाली कांग्रेसले पार्टी आन्तरिकरूपमा एकढिक्का भएर चुनावमा होमिएको भन्दै पहिलो चरणमा निर्वाचन हुने सबै स्थानमा आफ्नो पक्षमा चुनावी लहर आएको दाबी गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचन २०७४ केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले निर्वाचनको माहोलमा कांग्रेस अग्रस्थानमा रहेको र चुनाव जित्ने दाबी गर्नुभएको हो।

कांग्रेसका सबै तहका नेताहरू अत्यन्त क्रियाशीलतापूर्वक निर्वाचनमा खटिइरहेको भन्दै उहाँले समग्र पार्टी तलदेखि माथिसम्म एकढिक्का भएर लागेको जानकारी पनि दिनुभएको थियो।

कांग्रेसले निर्वाचनको क्रममा अन्यदलहरूसँग भएको तालमेल समस्यारहित भएको पनि जनाएको छ। ‘तालमेल भएका स्थानमा अहिले कुनै समस्या छैन’, केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक लेखकले भन्नुभयो– ‘त्यहाँ संयुक्त प्रचार अभियान चलेको छ।’

नेपाली कांग्रेसले संसद्मा विचाराधीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको बारेमा पहिलो चरणको निर्वाचनपछि संविधान सम्मत ढंगले निष्कर्ष निकाल्ने बताएको छ। ‘अहिले हाम्रो सम्पूर्ण ध्यान र बल निर्वाचनमा केन्द्रित छ’, केन्द्रीय सदस्य लेखकले भन्नुभयो– ‘निर्वाचनपछि छलफल गरी संविधान सम्मत ढंगले निष्कर्षमा पुग्नेछौं।’

केही समययता सर्वोच्चका फैसला र आदेशले कार्यपालिका र व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको हामीले महसुस गरेका छौं भन्दै केन्द्रीय सदस्य लेखकले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन नै महाभियोगको प्रस्ताव ल्याउनुपरेको बताउनुभएको थियो। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो क्षेत्राधिकार र सीमामा रहँदा नै विधिको शासन रहने उहाँको भनाइ थियो।