म गठबन्धनमै छुः उपेन्द्र ‘कुनै बैठक नै भएको छैन’


नेपाल समाचारपत्र
काठमाडौँ
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गठबन्धनका नामबाट आएको प्रेस विज्ञप्तिप्रति आफ्नो र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको छ।

उहाँले संघीय गठबन्धनको संयोजक तथा फोरमका अध्यक्षको हैंसियतबाट आइतबार प्रकाशित गर्नुभएको विज्ञप्तिमा भनिएको छ– ‘संघीय गठबन्धनको संयोजक म स्वयम् रहेको र मेरो सल्लाहमा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको कुरा यहाँ अवगत गराउन चाहन्छु। म संयोजक र प्रवक्ता प्राडा. ओम गुरुङलगायत गठबन्धनका अधिकांश बहुमत सदस्यलाई कुनै जानकारी नै नदिई व्यक्तिगतरूपमा आयोजना भएको कथित बैठक संघीय गठबन्धनको बैठक हुनै सक्दैन।’

गठबन्धनको अवधारणापत्रको मर्म, भावना र आचारसंहिताविपरीतको बैठकले संघीय गठबन्धनको बैठकको वैधानिकता प्राप्त नहुने भन्दै उहाँले आफूलाई निष्काशन गरिएको भन्ने गठबन्धनको निर्णय आधिकारिक नभएर व्यक्तिगत निर्णय मात्र भएको यादवले जनाउनुभएको छ।

उहाँले विज्ञप्तिमा महन्थ ठाकुरका नामबाट आएको उक्त प्रेस विज्ञप्ति राजनीतिक झूठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम भएको पनि उल्लेख गर्नुभएको छ।संघीय गठबन्धनका सबै घटक कथित प्रेस विज्ञप्तिको भ्रममा नपरी परिस्थितिको मूल्यांकन र आगामी कार्यभार बारे निर्णय गर्न एकीकृत भई छलफलमा रहनका साथै पार्टी पंक्तिलाई पनि भ्रमको पर्दाफास गर्दै दृढतापूर्वक क्रियाशील रहन पनि उहाँले आह्वान गर्नुभएको छ।