प्रधानमन्त्री–अमेरिकी सांसद भेट


नेपाल समाचारपत्र
काठमाडौं
नेपाल भ्रमणमा रहेका अमेरिकी सासंदहरूले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौताजस्ता विषयमा चासो लिएका छन्।

अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने सांसदहरूले प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछिको विदेश नीतिमा केही परिवर्तन भए पनि नेपालमा सञ्चालित अमेरिकी परियोजनाले निरन्तरता पाउने सो मुलुकका सांसदले बताएका छन्।

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूले प्रधानमन्त्री, सभामुख, परराष्ट्र मन्त्रीसहित विभिन्न दलका नेताहरूसँगको भेटवार्तामा यस्तो धारणा राखेका हुन्।

अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ एवं पूर्वसभामुख नान्सी पेट्रोसिया पेलोसीको नेतृत्वमा नेपाल आएको टोलीले उच्च स्तरीय भेटवार्ता गर्दै नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौताजस्ता विषयमा चासो पनि लिएको छ।

अमेरिकी कंग्रेसको टोलीमा सांसद पेलोसीसहित आठ सदस्यीय टोली नेपाल, भारत, जर्मनी र बेल्जीयमको भ्रमणको क्रममा शनिबार काठमाडौं आएको हो। पेलोसीले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताको कामनासमेत गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ। सो टोलीसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरूले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो।

साथै, प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाको सफलता र २ वर्ष अघिको भूकम्पको बेला अमेरिकाले उद्दार, राहत र पुनर्निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो। सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलैना वि टेप्लिट्जलगायत दूतावासका उच्च अधिकारीको पनि उपस्थिति थियो।

अमेरिकी सांसदहरूको टोलीले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको छुट्टै भेटवार्तामा नेतृ न्यान्सी पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवं समावेशिताको व्यवस्थाको प्रशंसा गर्नुभएको थियो।

साथै पेलोसीले नेपालले शान्ति प्रक्रियाको व्यवस्थापन, संविधान सभाबाट संविधानको निर्माण र संक्रमणकालीन राजनीतिक व्यवस्थापनमा नेपालले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गर्नुभएको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो।

अमेरिकी टोलीलाई मन्त्री महतले नेपालको संविधानमा गरिएको समावेशिता, मानवअधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासम्बन्धी प्रावधानका बारेमा जानकारी गराउनुभएको थियो। सो टोलीले आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर दिल्ली प्रस्थान गर्ने बताइएको छ।