भक्तपुरमा भीषण आगलागी पाँच घर पूर्णरूपमा ध्वस्त


भक्तपुर, (नेस)
भक्तपुर नगरपालिका वडा नं. १ तेखापुखुमा भीषण आगलागी भएको छ। स्थानीय इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बली आगलागी शुरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले आगलागीबाट आठ घर–परिवार बस्दै आइरहेको पाँच वटा घर पूर्णरूपमा ध्वस्त भएको बताउनुभयो।

ती घरमा दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार, इन्द्र शिल्पकार, कृष्ण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको थियो।

बिहान २ः३० बजेदेखि स्थानीय बासिन्दा, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसहित भक्तपुर, काठमाडौं, ललितपुर र नेपाल प्रहरीका गरी ६ वटा दमकलले दिउँसो १२ बजेमात्र आगो नियन्त्रणमा लिएका थिए।

आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको छ।