दिल्लीमा ग्यास चुहिँदा २ सय छात्रा अस्पतालमा


नयाँदिल्ली, (एजेन्सी)
भारतको राजधानी नयाँदिल्लीमा एउटा कन्टेनर डिपोटबाट ग्यास चुहिएपछि कम्तीमा २ सय जना छात्रालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। तिनीहरूले आँखा र घाँटी पोलेको तथा चिलाएको गुनासो गरेका थिए।

सो ग्यास पेस्टिसाइडस र इन्सेक्टिसाइडस अर्थात् किटनाशक औषधि उत्पादन गर्न प्रयोग हुने रसायनिक पदार्थ क्लोरोमिथाइल पाइराडाइन हुनुपर्ने विश्वास गरिएको छ। ग्यास लिक हुनासाथ तुघलाकावाद क्षेत्रमा रहेको सो विद्यालय खाली गरिएको र बालिकाको अवस्था गम्भीर नरहेको बताइएको छ। दिल्लीका प्रमुख अग्नि नियन्त्रक अतुल गर्गले दुई वटा दमकल, एउटा भ्यान र उद्धार टोलीहरू सरकारद्वारा सञ्चालित सो कन्या विद्यालयमा पठाइएको जानकारी दिएका छन्।
उनले रानी झासी विद्यालयबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई अन्यत्र लगिएरको र सो क्षेत्रमा कसैलाई पनि आवत–जावत गर्न नदिइएको पनि बताएका छन्।

दिल्ली प्रहरी र भारतको राष्ट्रिय दैवी प्रकोप नियन्त्रण फौजले उक्त ग्यासको पहिचान र लिक हुनाका कारण पत्ता लगाउन लागिपरेको बताइएको छ।

नयाँदिल्लीका प्रहरी उप आयुक्त रोमिल बानियाले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीलाई बताएका छन्।

भारतका स्वास्थ्यमन्त्रीले ट्विटमार्फत् ती पीडित बालिकाहरूको सुस्वास्थका लागि प्रार्थना गर्दै अस्पतालहरू स्टानबाई पोजिसनमा रहेको जनाएका छन्। भारतमा सुरक्षा मापदण्डमा हेल्चक्रइइँको कारण हुने यस्तो ग्यास चुहावटको घटनालाई सामान्य मानिने गरिन्छ।

सन् २०१४ मा छत्तीसगढ राज्यस्थित भारतै सबैभन्दा ठूलो स्टिल कारखानामध्ये एउटामा विषालु ग्यास सलक हुँदा ६ जनाको ज्यान गएको थियो। त्यसैगरी सन् १९८४ मा भोपालमा ग्यास चुहिँदा कम्तीमा २५ हजार व्यक्तिको ज्यान गएको थियो।