सभामुख छलफलमा कुन विकल्पमा जाने भन्ने अन्योल


नेपाल समाचारपत्र
काठमाडौं
सर्वोच्च अदालतले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको बारेमा गरेको आदेशका बारेमा सभामुख ओनसरी घर्तीले शनिबार कानुनव्यवसायी र संसद् सचिवालयका कर्मचारीसँग छलफल गर्नुभएको छ।

सभामुख छलफलपछि केही विकल्पमा जान सक्ने बताइए पनि कुन विकल्पमा जानुहुन्छ भन्ने बारेमा आजसम्ममा टुंगो लाग्ने बताइएको छ। सभामुख निकटस्रोतका अनुसार महाअभियोग संसद्को विशेष अधिकार भएकाले सर्वोच्चको आदेशको बेवास्ता गर्दै छलफलमा जाने, सर्वोच्चको आदेशलाई मानेर केही पनि नगर्ने, संसद् जेठ ५ गतेसम्म स्थगित गर्ने वा सर्वोच्चको आदेश पुनरवलोकनका लागि निवेदन दिनेमध्ये कुनै एक विकल्पमा सभामुख जाने सम्भावना रहेको छ।

आज १ बजे संसद् बैठक बस्नुअघि के गर्ने भन्ने टुंगोमा पुग्ने सम्भावना रहेको छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।