सुर्खेतमा यस्ता छन् कांग्रेसका उम्मेदवार



वीरेन्द्रनगर नगरपालिका

देवकुमार सुवेदी
वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा देवकुमार सुवेदीलाई अघि सारेको छ।

उहाँ विरेन्द्रनगर पार्टीको नगर सभापति हुन्। सुवेदी १२औं नगरअधिवेशनबाट नगर सभापति निर्वाचित भएका थिए। उनी सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति हुँदै नेवि संघको पूर्वकेन्द्रीय सदस्यसमेत रहिसकेका छन्।
जानकी सिंह
वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले उपप्रमुख पदमा जानकी सिंहलाई उठाएको छ।
उपप्रमुख उम्मेदवार सिंह २०४६ सालभन्दा अघिदेखि नै राजनीतिमा सक्रिय थिइन्। उनी १२औं महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि रहेकी थिइन्। उनी महिला संघको जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै हाल महिला संघको केन्द्रीय कोषाध्यक्ष रहेकी छन्।
उनी २०६२–०६३ सालको आन्दोलनमा सक्रिय सहभागीता जनाउने क्रममा गिरफ्तार भएकी थिइन् भने तत्कालीन लाटिकोइली गविस वडा–७ को वडा अध्यक्षमा निर्वाचित भएकी थिइन्।
भेरीगंगा नगरपालिका
भूपेन्द्र चन्द
भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले भूपेन्द्र चन्दलाई प्रमुखमा उम्मेदवार बनाएको छ।
२०४७ सालदेखि नेपाली कांगे्रसमा आबद्ध चन्द पञ्चायतविरुद्धको अन्दोलनमा सक्रिय भए बापत ३ महिना जेल परेका थिए। शिक्षण पेशामा आवद्ध गाउँ इकाइ सभापति हुँदै महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारीमा रहेर उनले काम गरेका थिए। उनी द्वन्द्वकालमा नेपालगन्ज विस्थापित भएका थिए।

रेणु ढकाल
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेकी रेणु ढकाललाई नेपाली कांग्रेसले भेरीगंगा नगरपालिकाको उपप्रमुखमा अघि सारेको छ।
ढकाल १२औं जिल्ला अधिवेशनबाट पार्टीको जिल्ला सदस्य बनेकी थिइन्। युवा नेतृ ढकालले स्नातकसम्मको अध्ययन गरेकी छन्। उनी सामाजिक क्षेत्रमा अग्रसर महिला रहेकी छन्।

गुर्भाकोट नगरपालिका
हस्त पुन
गुर्भाकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले हस्त पुनलाई उम्मेदवार बनाएको छ।
पूर्वजिल्ला सदस्य पुनः हाल गुर्भाकोट नगरकार्य समितिका सभापति हुन्। पुनले स्नातक सम्मको अध्ययन गरेका छन्।
मैन वि.क
नेपाली कांग्रेसले गुर्भाकोट नगरपालिकामा दलित महिला मैना विकलाई उपप्रमुखमा उम्मेदवार बनाएको छ।
महिला संघको जिल्ला कोषाध्यक्ष पदमा रहेर काम गरिसकेकी विक हाल पार्टीको महाधिवेशन प्रतिनिधि छन्।
पञ्चकुमारी नगरपालिका
उपेन्द्र थापा
पञ्चकुमारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पूर्व गाविस उपाध्यक्ष उपेन्द्र थापालाई प्रमुखमा उम्मेदवार बनाएको छ।
थापा २०४९ सालमा गाविस उपाध्यक्षका रूपमा जनप्रतिनिधि भई काम गरिसकेका व्यक्ति हुन्। २०५४ सालमा भने गाविस उपाध्यक्षमा पराजित भए। अघिल्लोपटक पार्टीको कावा. सभापतिको जिम्मेवारीमा रहेका थापा हाल महासमिति सदस्य छन्। थापाले एसएलसी सम्मको अध्ययन पूरा गरेका छन्।
मुक्तिदेवी रेग्मी पुरी
पञ्चकुमारी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसले मुक्तिदेवी रेग्मी पुरीलाई उम्मेदवार बनाएको छ।
सामाजिक क्षेत्रमा अग्रसर पूरी महिला संघको क्षेत्रीय सभापति हुन्। विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा सक्रिय उनी क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य समेत हुन्।
लेकबेंसी नगरपालिका
उमेशकुमार पौडेल
लेकवेंसी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले उमेशकुमार पौडेललाई उम्मेदवार बनाएको छ।
पाटन क्याम्पसको नेविसंघ इकाइ सभापतिसमेत रहेका पौडेल जिल्लाकै उत्कृष्ठ गाईपालक व्यवसायीका रूपमा मानिन्छन्। उनी शिक्षक पनि हुन्।
निलमति विक
नेपाली कांग्रेसले लेकबेंसी नगरपालिकामा नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष निलमति विकलाई उपप्रमुखममा उम्मेदवार बनाएको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सहकारी संस्थाको अध्यक्ष रहेकी विक घरेलु विकास समितिको ट्रेनरको रुपमा काम गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्