म्याग्दीका सबै स्थानीय तहमा उम्मेदवारी दर्ता



नेपाल समाचारपत्र, म्याग्दी ।

म्याग्दीमा स्थानीय तहको निर्वाचनका लागि जिल्लाको बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा मङ्गलबार उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।

यही बैशाख ३१ गते तोकिएको स्थानीय तहमा हुन गैरहेको निर्वाचनका लागि सबै स्थानीय तहमा राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका हुन् ।

बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरी मेयरमा कांग्रेसका हरिकुमार श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका ज्योती लामिछानेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचनको अधिकृत कार्यालयले जनाएको छ ।

यसैगरी नेकपा एमाले र राप्रपाले तालमेल गरी मेयरमा एमालेबाट प्रमोद श्रेष्ठ र उपमेयरमा राप्रपाका सञ्जु बरुवालले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै नगरपालिकाकै मेयरमा राष्ट्रिय जनमोर्चाबाट फौजबहादुर कार्की (विदुर) र उपमेयरमा भोमकुमारी कार्की (विष्णु)ले उम्मेदवारी दिएको जनमोर्चाले जानकारी दिएको छ ।
त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट नगरपालिकाको मेयरमा नरबहादुर थापा र नयाँ शक्ति पार्टी नेपालबाट याम किसानले पनि मेयरमा उम्मेदवारी दिनुभएको छ ।
उता मंगला गाउँपालिकामा प्रमुख र उपप्रमुखमा क्रमशः कांग्रेसबाट श्रीराम पौडेल, हुमादेवी फगामी, एमालेबाट सतप्रसाद रोका, सिर्जना केसी, माओवादीबाट चन्द्रप्रसाद बुढाथोकी, पूर्णिमा बिसी र स्वतन्त्रबाट चक्रपाणी आचार्यले उम्मेदवारी दर्ता गरेको मंगला गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मालिका गाउँपालिकामा क्रमशः प्रमुख र उपप्रमुखमा कांग्रेसबाट श्रीप्रसाद रोका, बिमला रोका, एमालेबाट बेगप्रसाद गर्बुजा, खरमायाँ बिटालु, माओवादीबाट कमल केसी र गौरी सेञ्चुरी रहेको गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।
धौलागिरि गाउँपालिकामा कांग्रेस–माओवादीको तालमेलमा माओवादीका रिमप्रकाश भण्डारी प्रमुख र उपप्रमुखमा कांग्रेसका डम्बर भण्डारी, एमालेबाट प्रमुखमा थमसरा पुन र उपप्रमुखमा रेशम छन्त्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यता म्याग्दीको उत्तरी भेगअन्तर्गत अन्नपूर्ण गाउँपालिकामा कांग्रेसबाट क्याप्टेन डमबहादुर पुन, उपप्रमुखमा केशमायाँ पुन, नेकपा एमालेबाट प्रमुखमा नारायण पुन, उपप्रमुख दुर्गादेवी पूर्जा र माओवादी केन्द्रबाट प्रमुखमा कुलबीर राम्जालीले उम्मेदवारी दिएपनि उपप्रमुखमा भने उम्मेदवारी परेको छैन् ।
रघुगंगा गाउँपालिकामा एमाले–माओवादी–राप्रपाको तालमेलबाट प्रमुखमा एमालेका खिमबहादुर शाही, उपप्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्भने नेपाली कांग्रेसबाट प्रमुखमा भवबहादुर भण्डारी र उपप्रमुखमा कल्पना गर्बुजाले मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्