लोग्नेसँग प्रतिवाद गर्न दुलहीहरूलाई ब्याट वितरण

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतमा आयोजित एक सामूहिक विवाहमा सयौं दुलहीलाई आफ्ना पतिहरूबाट हुनसक्ने यातनाको प्रतिवादका लागि लुगा धुन प्रयोग गरिने ब्याट उपहार स्वरुप दिइएको छ। करिब १५ इन्च लामो परम्परागत लुगा धुलाइमा प्रयोग गरिने सो ब्याटमा ‘जँड्याहाविरुद्ध प्रयोग गरौं’ भन्ने सन्देश लेखिएको छ। मध्य प्रदेशका राज्यमन्त्री गोपाल भार्गवले आफूले घरेलु हिंसालाई प्रकाश पार्न चाहेको बताएका छन्। तर उनले ती नवविवाहित महिलाहरूलाई त्यसको प्रयोग गर्नुअघि आफ्ना पतिहरूसँग वार्ताबाट समस्या सुल्झाउन पनि सल्लाह दिएका छन्।

यदि ती पतिहरूले कुरा सुन्नै मानेनन् भने तिनीहरूमाथि लुगाको मयल झार्न प्रयोग गरिने उक्त मोग्री प्रयोग गर्न पनि उनले सल्लाह दिएका छन्। सो विवाह कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भएका भार्गवले ब्याट बोकेकी दुलहीहरूसँग खिचेको तस्वीर आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन्।

उनले आफ्ना जँड्याहा पतिहरूबाट पीडित ग्रामीण महिलाहरूप्रति आफूलाई निकै चिन्ता लाग्ने गरेको पत्रकारहरूलाई बताएका छन्। उनले भनेका छन्– ‘ग्रामीण महिलाहरूले रक्सीले मात्तिएपछि तिनका लोग्नेहरू निकै हिंसात्मक रुपमा प्रस्तुत हुने र मारपिट गर्दै बचाएर राखेका पैसा पनि लुटेर लग्ने गरेको बताउँछन्। त्यसैले हिंसा रोक्ने असल उपाय भनेको यही ब्याट हो।’

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीका सदस्य भार्गवले आफूले वितरणका लागि १० हजारवटा ब्याट अर्डर दिएको पनि बताएका छन्। गत सप्ताहान्त उनको गृहनगर गारहाकोटामा आयोजित सामूहिक विवाहमा झन्डै ७ सय जना दुलही सहभागी भएका थिए। गरिब परिवारहरूको खर्ज वचत गर्ने उद्देश्यले भारतमा यस्तो सामूहिक विवाहको आयोजना हुने गर्दछ।