पत्रकारिता छोडेर उपमेयरको उमेदवारी



ज्ञानमणि नेपाल कालोटोपी,काभ्रे ।
करिब १९ वर्ष पछि देशमा हुन लागेको स्थानिय चुनावमा नागरिकको चासो निकै नै वढेको छ । सगँसँगै युवाजमात पनि सक्रिय रुपमा खुलेरै राजनितीमा लाग्न थालेका छन् ।

यसैक्रममा विभिन्न पेशामा आफ्नो छवि बनाई सकेर पनि उमेदवारी दिनेहरु वढ्न थालेका छन् । यसरी उमेदवारी दिने मध्ये शिक्षकहरु धेरै देखिएका भएपनि जिल्लाको मण्डनदेउपुर नगरपालिकामा भने विगत ७ वर्ष देखि पत्रकारितामा सक्रिय रहेर नाम कमाएकी राधिका ढकालले उमेदवारी दिएकी छिन् ।

आर्थिक राष्ट्रिय दैनिक कारोबारमा निकै लामो समय सम्म काम गरेर पत्रकारिताको अनुभव लिएकी उनले यसपटक नेपाली काँग्रेसका तर्फबाट उपमेयरमा उमेदवारी दिएकी हुन् । पत्रकारितामा नाम कमाएको मान्छे एक्कासि राजनितीमा लागेपछि यति बेला यसक्षेत्रमा उनको चर्चा निकै नै चलेको छ ।

मण्डनदेउपुर नगरपालिका ५ गैह्रिविसौना स्थायी घर भए पनि उनी राजधानीमै बसेर सक्रिय रुपमा पत्रकारिता गरिरहेकी थिइन । अबको नेतृत्व युवापुस्तामा जानु पर्छ भन्ने मान्यता बोकेर आफू राजनितीमा छिरेको उनले बताएकी छिन् । ‘समाजसेवा गर्न र देश विकास गर्न पत्रकारिता र राजनिती जुन बाटोबाट हिंडेपनि पुग्ने ठाउँ भनेको एउटै हो ।’ उनी भन्छिन् “राजनीति देशलाई डोहो¥याउने मूल नीति हो ।

यसमा आकर्षण नै छैन भन्दा हामी गलत हुन्छौं । हामी जुन क्षेत्रमा लाग्छौं, त्यसमा इमान्दारिता देखाउन आवश्यक छ ।”
पत्रकारिता विषयमै मास्टर डिग्री गरिसकेकी राधिकाले यस अघि राजनितीमा लाग्छु भन्ने तिर खासै सोचेकी थिइनन् । तर अहिलेको आवश्यकता भनेकै युवामा नेतृत्व जानु हो भन्ने लागेर उनी यसतर्फ लागेकी हुन् ।

उनको विचारलाई सम्मान गर्दै पार्टीले पनि उपमेयरको टिकट दियो । चुनावी मैदानमा गएपछि हार जित हुनु स्वभाविक नै हो । भोली नतिजा जे आउला तर पनि मेरो यो निर्णयलाई मतदाताले राजनीति मार्फत समाज सेवा गर्ने मौकाको रुपमा लिनु हुनेछ भन्ने मेरो अपेक्षा छ, उनले भनिन् ।

यस नगरपालिकाका यूवापुस्ताले उनको उमेदवारीलाई निकै चासोको रुपमा लिएका छन् । राजनितीमा लागे पनि आफ्नो रुचिको पेशा पत्रकारितालाई चटक्कै नछोड्ने ढकालले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्