घाँसको बीउ निकासी गर्ने तयारीमा मकवानपुर

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
स्थानीय हेटौंडा–१७, राजदेवीकी सावित्री सञ्जेलले २२ कठ्ठा जमिनमा जैं घाँस खेती गर्नुभएको छ। १० वटा गाईं पाल्नुभएकी सञ्जेल जैं घाँसबाट आफ्नो वस्तुभाउलाई हिउँदमा घाँसको दुःख नहुने र खेती गर्न सजिलो भएकाले आगामी दिनमा जैं घाँसमा अझ लगानी बढाउने इच्छा रहेको उहाँले बताउनुभयो। जैं घाँसको खेती खाद्यान्न बालीमा भन्दा बढी लाभ हुने सञ्जेलको अनुभव छ।
जैं घाँसको बीउ मंसिरदेखि पुससम्ममा खेतमा छरिन्छ। घाँस मात्रका लागि हो भने यो एक बालीमा ६⁄७ पटकसम्म काट्न मिल्छ। तर, बीउका लागि लगाइएको हो भने ४⁄५ महिनामा बाली लिने गरिन्छ। जैं घाँसको बीउको सरकारी मूल्य प्रतिकिलो ४० देखि ४५ रुपियाँसम्म छ भने किसानले खरिदबिक्री गर्दा ५०⁄५५ रुपियाँ प्रतिकिलोसम्म तिरेको पाइन्छ।

किसानको आकर्षणमात्र नभएर उत्पादन बढेका कारण जैं घाँसको बीउ आगामी आर्थिक वर्षबाट निकासी हुने गरी उत्पादन हुने जिल्ला पशु सेवा कार्यालय मकवानपुर प्रमुख डा. रामप्रकाश प्रधानले बताउनुभयो। चुनावी चटारोले परिश्रमी किसानलाई छोएको छैन। सदरमुकाम हेटौंडा नगरवरपरका किसानलाई अहिले जैं घाँस बीउको उत्पादन लिने चटारो छ। वस्तुभाउलाई खुवाउने पोषिलो हिउँदे घाँस जैंको मकवानपुरमा करिब ३ सय हेक्टर जमिनमा खेती हुँदै आएको छ।

भित्री तराई र सिँचाइ राम्रो रहेको क्षेत्रमा जैं घाँसको खेती उपयुक्त हुन्छ। जैं घाँसका लागि युरेनियम, पोटासियम तथा फस्फोरस मल उपयुक्त हुन्छ। मकवानपुरमा पहिले जैं घाँस वस्तुभाउलाई खुवाउनमात्र खेती हुने गरेको भए पनि पछिल्लो समय किसानको बढ्दो आकर्षणका कारण जैं घाँसको व्यावसायिक खेती हुन थालेको छ।

जैं घाँसको बीउ प्रत्येक वर्ष जिल्ला पशु सेवा कार्यालय मकवानपुरले १ सय हेक्टरका लागि निवेदनका आधारमा निःशुल्क प्रदान गर्दै आएको छ। कार्यालयबाट बितरण गरिने बीउबाट पर्याप्त नभएकाले किसान आफ्नै स्रोतले बीउ संकलन गरी खेती गरिरहेको कार्यालय प्रमुख डा. प्रधानले बताउनुभयो। प्रधानका अनुसार मकवानपुरका किसानको जैं घाँसप्रति आकर्षण बढ्दै गएकाले किसान स्वयम् बीउमा आत्मनिर्भर हुन थालिसकेका छन्।