९ महिनामा १४ करोडभन्दा बढीको छाता आयात

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
र्मी र वर्षात शुरु भएसंँगै बजारमा छाताको माग बढेपछि आयात पनि अन्य वर्षको तुलनामा बढेको छ। फुटपाथदेखि ठुला सपिङ सेन्टरमा समेत स्थान पाएको छाता व्यापार अघिल्ला वर्षको तुलनामा निकै बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको नौ महिना अवधिमा १४ करोड १५ लाख ४२ हजार रुपियाँ बराबरको छाता आयात भएकोछ। जुन रकम गत आर्थिक वर्षको कुल छाता आयातभन्दा २ करोड ६९ लाख ५३ हजार रुपियाँले बढी हो।

नेपालमा अन्य मुलुकको तुलनामा चीनबाट ठूलो परिमाणमा छाता भित्रिन्छन्। छाताको आयातमा कुल आयातको ९८ प्रतिशत चीनबाट मात्रै आयात हुन्छ। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैतसम्ममा २१ लाख ३८ हजार ८२ गोटा छाता नेपाल आयात भएको छ। जसको मूल्य १३ करोड ८२ लाख ५० हजार रुपियाँ बराबर छ। भारतबाट चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २७ लाख ७७ हजार मूल्य बराबरका १३ हजार ९ सय २३ गोटा छाता नेपाल भित्रिएका छन्। भारत र चीनबाहेक भियतनाम, अमेरिका, हङकङ, इन्डोनेसिया, थाइल्यान्डलगायत तेस्रो मुलुकबाट पनि छाताको आयात हुने गरेको छ। नौ महिनामा छाताको आयातबाट मात्र भन्सार विभागले ४ करोड ४९ लाख ६१ हजार रुपियाँ राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्ष २०७२⁄७३ मा ११ करोड ४५ लाख ८९ हजार रुपियाँ बराबरको छाता नेपालमा आयात भएको थियो भने सोमार्फत् ३ करोड १८ लाख ७० हजार रुपियाँ राजस्व राज्यकोषमा जम्मा भएको थियो। आर्थिक वर्ष २०७१⁄७२ को अवस्था हेर्दा १४ करोड ९३ लाख १३ हजार रुपियाँ बराबरको आयात थियो भने सो मार्फतको राजस्व संकलन ४ करोड १४ लाख ४६ हजार रुपियाँ बराबर थियो।

छाताको गुणस्तर, आकार र बनावट अनुसार मूल्यमा पनि निकै फरक छ। सामान्यतया २ सय रुपियाँदेखि ८ सय रुपियाँसम्म पर्ने छाताहरू बढी मात्रामा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्।