अब विवाह गर्दैमा बलात्कारी नबच्ने


अम्मान, (एजेन्सी)
यदि बलात्कृत महिलासँग विवाह गर्न तयार भएको खण्डमा बलात्कारीलाई कुनै पनि कारबाही नहुने जोर्डनको पुरानो कानुनलाई निष्कृय पारिएको छ। जोर्डानको मन्त्रिमण्डलले उक्त कानुनको धारा ३ सय ८ लाई निष्कृय पार्ने निर्णय गरेको हो।
वर्षौंदेखि महिला अभियन्तालगायत मुस्लिम र इसाई बुद्धिजीवी र अन्य व्यक्तिहरूले उक्त कानुनविरुद्ध अभियान चलाउँदै आएका थिए। सो कानुनअनुसार यदि बलात्कारीले बलात्कृत महिलालाई कम्तीमा ३ वर्षका लागि विवाह गरेको खण्डमा उनले कुनै पनि कारबास सजाय भोग्नुपर्दैन। तर, यस कानुनका समर्थकहरूले भने यसले पीडितको सम्मान र प्रतिष्ठाको रक्षा गर्ने गरेको बताउने गरेका छन्।

गत वर्ष यस कानुनलाई संशोधन गरी यदि यौन सम्पर्क सहमतिमा भएको मानिएमा र पीडित महिला १५ देखि १८ वर्ष उमेरबीचका भएको खण्डमा मात्र बलात्कारीले उनीसँग विवाह गर्न पाउने नयाँ प्रावधान बनाइएको थियो। त्यसपछि गत फेब्रुअरीमा शाही समितिले उक्त कानुन पूर्णरूपमा खारेज गरिनुपर्ने सल्लाह दिएको थियो।

उक्त कानुनसँग नुर नामक एक महिलाको अनुभव यसरी जोडिएको छः उनी २० वर्षकी छँदा उनका ५५ वर्षीय बोसबाट बलात्कृत हुन पुगेकी थिइन्। एक दिन अफिसमा टाउको दुख्दा उनलाई ती बोसले दुई चक्की औषधि खान दिए। उनी केही क्षणपछि नै बेहोस भइन्।

व्युझिँदा उनले आफूलाई नांगो र बलात्कृत भएको पाएको महिला अधिकारवादी अभियन्ता समूहलाई बताएकी छिन्। उनले त्यो घटनाबारे परिवारलाई बताउन सकिनन्। एक्लै रोइरहिन्।

तर, अचानक आफू गर्भवती भएको चाल पाएपछि भने बल्ल उनले बलात्कारबारे उजुरी गर्ने आँट गरिन्। तर, ती बोसले सोही कानुनअनुसार उनीसँग विवाह गर्ने प्रस्ताव राखे। उनको सामु अन्य कुनै उपाय थिएन। उनको परिवारले पनि इज्जत बचाउन भए पनि विवाह गर्न जोड दियो।