जंगलमा मानव कंकाल फेला


ताप्लेजुङ, (नेस)
सिदिङ्वा गाउँपालिकाको एक जंगलमा बिहीबार दिउँसो मानव कंकाल फेला परेको छ।

सो गाउँपालिकाको ५ नम्बर साविक लिम्बुदिन ९ को पाताल जंगलमा मानिसको खुट्टाको हड्डी, दाँत, टाउकोको खपडा र पुरुषकोजस्तो फुलेको कपाल फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

स्थानीयले बिहीबार दिउँसो एक बजे जंगलमा मानव कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनसाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा ५ जनाको टोली सो स्थानमा पुग्दा कंकालसहित निलो रङको जुत्ता, निलो सुइटर, हरियो कट्टु, छरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनास्थल प्रहरी चौकी साब्लाखुबाट ३⁄४ घण्टा पैदल दूरीमा रहेको छ।