मतदान नगर्न सर्वसाधारणलाई अपिल


नेपाल समाचारपत्र, हेटौंडा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले स्थानीय निर्वाचनमा मतदान नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टीले स्थानीय निर्वाचनले नेपाली जनताको अधिकार सुनिश्चित नगर्ने भन्दै निर्वाचनसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।

पार्टीले निर्वाचनमा उम्मेदबार नबन्न तथा प्रचारप्रसारमा नहिड्न पनि आग्रह गरेको छ । आग्रहलाई बेवास्ता गरिए त्यस समयमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्वन्धित पक्ष नै हुने कुरा पार्टीले बताएको छ ।

पत्रकार सम्मेलनमा पार्टी मकवानपुर इञ्चार्ज ज्वालाले स्थानीय निर्वाचनले भ्रष्टाचार, घुसखोरी, कालोबजारी, तस्करी र राष्ट्रघात बढ्ने बताए । यस निर्वाचनले जनताको अधिकार प्राप्तिभन्दा पनि अधिकार गुम्ने उनले बताए ।