काठमाडौंमा युवा सार्क सम्मेलन हुने


नेपाल समाचारपत्र
काठमाडौं
युथ पार्लियामेन्ट नेपालको आयोजानमा आगामी वैशाख ११ र १२ गते काठमाडौंमा युवा सार्क सम्मेलन हुने भएको छ। उक्त सम्मेलनमा सार्क राष्ट्रका युवा प्रतिनिधिहरू सहभागी हुने बताइएको छ भने विभिन्न ९ वटा राष्ट्रहरूबाट निरीक्षकहरू सहभागी रहने युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्यालले बताउनुभयो।

अर्यालका अनुसार उक्त सम्मेलन आयोजनाको मुख्य उद्देश्य सार्क सम्मलेन समयमा गर्न नैतिक दबाब दिने, दक्षिण एसियाली साझा मुद्दामा साझा धारणा निर्माण गर्ने तथा दक्षिण एसियाली युवाहरूको सञ्जानलीकरण गर्ने रहेको छ। साथै उक्त सम्मेलनमा जलवायू परिवर्तन, सुशासन, दीगो विकासजस्ता विषयमा छलफल हुने पनि बताइएको छ।

उक्त सम्मेलनको उद्घाटन भूतपूर्व राष्ट्रपति रामवरण यादवले गर्ने तय भएको छ। विशिष्ट अतिथी रूपमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, युवा तथा खेलकूदमन्त्री दलजीत श्रीपालीको उपस्थिति रहने उक्त सम्मेलनमा युरोपियन यूनियन, भारत, पाकिस्तान, श्रीलंका, बंग्लादेशका रादजदूतहरू अतिथिका रूपमा उपस्थित हुनेछन्।

सम्मेलनको संयोजन युवा तथा खेलकूद मन्त्रालयअन्र्तगतको राष्ट्रिय युवा परिषद्, सहकार्य नेपाल तथा युवा वकालत नेपालले गर्नेछन्।

युवा अभियान नेपाल तथा युवा ग्रैहसरकारी संस्था राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा आयोजना हुने उक्त सम्मेलनलाई युरोयिन युनियन, एक्शन एड, रेस्टलेस डेभलपमेन्ट नेपाल तथा केयर इन्टरनेसनलले सहकार्य गर्नेछन्।