चुनावबारे राष्ट्रसंघीय प्रतिनिधिलाई ब्रिफिङ


नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे संयुक्त राष्ट्रसंघसँग आबद्ध नियोगका प्रतिनिधिलाई शुक्रबार जानकारी गराएको छ।

आयोगले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघीय बालकोष, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, विश्वखाद्य कार्यक्रमलगायतका नियोगमा कार्यरत प्रतिनिधिलाई निर्वाचनको तयारीबारे जानकारी गराएको हो।

नियोगका प्रतिनिधिले मतदाता नामावली संकलन, महिलाको सहभागिता, अपांगता भएकालाई मतदानका लागि गरिने व्यवस्था, महिलाको प्रतिनिधित्व, निर्वाचन पर्यवेक्षणको व्यवस्थालगायतका विषयमा जिज्ञाशा राखेका थिए।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा गणतन्त्र, संघीयता र लोकतन्त्र कार्यान्वयनको चरणमा रहेको अवस्थामा हुन लागेको निर्वाचनपछि जनताले स्थानीय तहमै सरकार प्राप्त गर्ने बताउनुभयो।