चिकित्सक शर्मालाई कारबाही नगर्न आदेश


नेपाल समाचारपत्र
काठमाडौं
सर्वोच्च अदालतले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नुतन शर्मालाई तीन महिना निलम्बन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीशद्वय गोपालप्रसाद पराजुली र चोलेन्द्र शमशेर राणाको संयुक्त इजलासले बिहीबार शर्र्मालाई कारबाही गर्ने काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको हो।

करिब ५ वर्षअघि परेको बेनामे उजुरीलाई आधार बनाउँदै काउन्सिलले २०७२ साउन २४ गते शर्मालाई तीन महिनासम्म चिकित्सकीय पेसा गर्र्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको थियो। अख्तियारको निर्देशनलाई आधार बनाउँदै काउन्सिलले लिंग पहिचान गरी गर्भपतनका लागि उत्प्रेरित गरेको भनी परेको बेनामे उजुरीका आधारमा शर्मालाई निलम्बन गरेको थियो।

उक्त निर्णयलार्ई पुनरावेदन अदालत पाटनले ९ महिनाअघि सदर गरेपछि शर्माले सर्वोच्चमा मुद्दा दोहो¥याई हेर्न अपिल गरेकी थिइन्। शर्माले मुद्दा दोह¥याई हेर्न दायर गरेको निवेदनमा सर्वोच्चले निस्सा दिए पनि काउन्सिलले गत चैत २४ गते शर्मालाई कारबाहीको निर्णय गरेको थियो।

सर्वोच्चले निस्सा दिएको पत्रबारे लिखित जानकारी गराएको भोलिपल्टै काउन्सिलले शर्मालाई तीन महिना निलम्बन गर्ने निर्णयसहितको पत्र बुझाएको थियो। सर्वोच्चमा विचाराधीन विषयलाई अवज्ञा गर्दै काउन्सिलले शर्मालाई निलम्बन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध शर्मा सर्वोच्च पुगेको अल्का अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सर्वोच्चले शर्मामाथि लागेको आरोपसम्बन्धी विषय अदालतमा विचाराधीन रहेको भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म काउन्सिलको निर्णय कार्यान्वन नगर्न÷नगराउन अन्तरकालीन आदेश दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।