ग्लोबल नेपाल फेस्ट सम्पन्न


काठमाडौँ, ७ वैशाख । नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा ग्लोबल नेपाल फेस्ट–२०१७ सोमबार सम्पन्न भएको छ ।

अमेरिकास्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहायतमा नेपाली भिन्तुना इन्टरनेसनलले विभिन्न कार्यक्रमसहित जर्ज वासिङ्टन विश्वविद्यालय क्याम्पसमा फेस्ट सञ्चालन गरेको हो । समारोहमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसी र अमेरिकाका विभिन्न सहरमा रहेका नेपालीको उल्लेख्य उपस्थिति रहेको भिन्तुना इन्टरनेसनलले जनाएको छ ।

महोत्सवमा नेपाली सङ्गीत तथा नृत्य, कला–संस्कृति, पर्यटकीय गतिविधि, हस्तकला, वेशभूषा, नेपाली खानाका परिकार तथा नेपाल चिनाउने विभिन्न कक्ष राखिएको थियो । नेपाली चित्रकला प्रदर्शन, योग तथा ध्यान सत्र पनि रहेको सो कार्यक्रम नेपाली समुदायले एकापसमा चिनजान गर्ने तथा विदेशी भूमिमा नेपाल चिनाउन सफल भएको विश्वास गरिएको छ ।
चित्रकला प्रदर्शनीमा किरण मानन्धर, राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डङ्गोल, सागर मानन्धर, रविता केसी, दिभा प्रधान, सम्झना राजभण्डारी, चन्द्र श्रेष्ठ, कृष्णगोपाल रञ्जितलगायतको सहभागिता थियो । भिन्तुना इन्टरनेसनले यही वैशाख १६ गते अमेरिकी सहर बाल्टिमोरमा पनि फेस्टको आयोजना गर्न लागेको छ । रासस