युद्धकै झल्को दिए राता मान्छेले


धनवीर दाहाल, रुकुम । बिहानको ठिक ११ बजेर १७ मिनेट गएको थियो । मुसिकोट नगरपालिका को खलंगा बजारमा किराना पसल गर्दै आएकी राममाया सुनारको पसल अगाडी नारा लगाउँदै युद्धकै झल्को दिनेगरी राता मान्छेहरु आए ।

उनी झसंग भइन फेरी पनि यस्ता कपडा लगाएका मान्छेहरु कसरी आय ? तत्कालिन सशस्त्र युद्धको समयमा उनी रुकुमको खारामा भएको घटनामा पटक पटक पिडा खेपेकी थिइन् ।
तत्कालिन सशस्त्र संघर्ष गरिरहेको माओबादीले गरेझैं सरकार बिरोधी कडा नारा लगाउँदै बिप्लव नेतृत्वको नेकपाले रुकुममा मार्च पास गरेको छ । राममाया मात्र होइन रुकुम मुसिकोट बजारमा बुधबार राता मान्छेहरुको मार्चपासले एक पटक पुरानो झल्को रुकुमेलीलाई दिएको छ ।

एकिकृत जनजारण प्रतिरोध अभियानको उद्घाटन कार्यक्रम नाम दिइएको एक कार्यक्रममा नेकपाका जिल्ला स्तरका नेताले रुकुमको मनमा त्रास पैदा गरिदिएका छन् । उनीहरुले कुनै पनि हालतमा स्थानीय निकायको निबार्चन हुन नसक्ने र यो सरकार पञ्चायतकालिन भन्दा पनि प्रतिगामी भएको दावी गरे ।

अहिले गाँउमा संसदवादी दलहरुले वडाको केन्द्र त्यो ठाँउमा सारिदिन्छु अर्थात गाँउपालिकाको केन्द्र त्यो ठाँउमा सारिदिन्छु भन्दै भोट माग्ने गरेको र स्थानीय तहको निबार्चनको नाममा जनतालाई भ्रम छरिरहेको आरोप लगाए ।

अधिकांश समय सरकार र माओबादी केन्द्रको बिरोधमा खर्चेका उनीहरुले कुनै पनि हालतमा निबार्चन नहुने ठोकुवा गरे । दलाल संसदीय ब्यवस्थाको चुनाब खारेज गरौं, जनसत्तालाई सुदृढ र बिस्तार गर्दै अघि बढौं भन्ने नाराका सहित नाराजुलुस गरेर बजार परिक्रममा समेत गरिएको थियो ।

सभा कार्यक्रममा जिल्ला स्थित नेतृत्वहरुले चुनाब बिरोधी भाषण गर्नुका साथै बिचबिचमा जनसांस्कृतिक प्रस्तुती पनी राखिएको थियो ।