रसुवाको ११ वटा वस्तीका एक सय ८७ घर उच्च जोखिममा


नेपाल समाचारपत्र, रसुवा । रसुवामा भूकम्पको कारण ११ वटा वस्ती उच्च जोखिममा परेको भौगर्भिक अध्ययनबाट देखिएको छ ।

खानी विभागबाट साविकको ७ वटा गाविसको १८ वटा वस्तीमा गरिएको अध्ययनबाट ११ वटा वस्ती आंशिक तथा पुर्ण जोखिममा परेको पाइएको हो । भूगर्भविद्को तीन वटा टोलीले गरेको अध्ययनबाट ११ वटा वस्तीका एक सय ८७ घरधुरी जोखिममा परेको प्रतिवेदन आएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले वताउनुभयो ।

प्रतिवेदन अनुसार लाङटाङको चार स्थान, हाकुको गोगने, डाँडागाँउको चिप्लेटी, ठुलोगाँउको लायुन लगायतका वस्ती जोखिममा परेको छ ।

ठुलोगाँउ स्थित लायुनका नौ वटा, हाकुस्थित सानोहाकु, ठुलोहाकु र हाकुवेशीका केही घर, धैबुङस्थित कदमघारीका १२ परिवार र प्राङगसेको वस्ती, भोर्लेस्थित घट्टेपाखाका २ परिवार, चिलिमे स्थित पाजुङ र केराघारीका ८० परिवार, सरमथलीको लामरांगका १० परिवार, हाकुस्थित तीरुका ५, लुम्वाडाँडाका तीन, ठुलोगाँउस्थित लायुनका ९ घरपरिवारको तत्काल वस्ती स्तान्तरण गर्नुपर्ने देखिएको छ ।

त्यस्तै धुन्चेस्थित गुम्चेतका ५, यार्सास्थित थाङ्दोरका ४ तथा सांग्युल वच्चाको २९, धोक्लाङका ४, राम्चेस्थित गुम्चेतका १५ र थुमनस्थित तार्सा तथा देस्याका १० घरपरिवार गरी एक सय ८७ घरपरिवारलाई वर्खाअगाडी नै वस्ती स्थान्तरण गर्नुपर्ने भएको पाण्डेको भनाई छ ।