चितुवाको छालासहित एक जना पक्राउ


नेपाल समाचारपत्र, बैतडी ।
चितुवाको छाला सहित बैतडीको पाटनमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६ बस्ने ३३ बर्षीय महेशसिंह सुतारलाई चितुवाको छाला सहित प्रहरीले पक्राउ गरेको हो ।

क्षेत्रीय अनुसन्धान टीम दिपायल र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त टोलीले सुतारलाई चितुवाको छाला सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘बिशेष सूचनाका आधारमा त्यो मान्छेसंग चितुवाको छाला छ भनेर हामीलाई ३ महिना पहिलेदेखि थाहा थियो । त्यसपछि क्षेत्रीय अनुसन्धानको टीम र हामीले बारम्बार त्यसको खोजी गर्दा आज फेला पार्यौं ।’

सुतारसंग रहेको चितुवाको छाला ५ फिट ९ लम्बाईको र २ फिट चौडाई रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । मरेको भैसीको सिनोमा औषधि राखेर करीब १ बर्ष पहिले सुतारले चितुवा मारेको समेत उहाँले बताउनुभयो । पक्राउ परेका सुतारलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।