हैरान छन् अभिभावक


ईश्वरराज ढकाल, काठमाडौं
सरकारले विद्यालयबाट पुस्तक बिक्री गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ। विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

राजधानीमा नाम चलेका विद्यालयले एउटै पसलमा सूची भिडाएर विद्यालयलाई मोटो कमिशन दिने प्रलोभनमा थप पुस्तक, कपीलगायतका सामग्री भिडाउने गरेको खुलेको छ। मखनमा रहेको पीएस बुक्स एन्ड स्टेशनरीले राजधानीमा नाम चलेका विद्यालयको पुस्तक ठेक्का नै लिएर बिक्री गरेको खुलेको छ। सो स्टेसनरीले मोर्डन इन्डियन, रुपिज र युरो स्कुलका स्टेसनरी बिक्री गर्ने गरेको छ। विद्यालयले एउटै मात्रै स्टेसनरीलाई पुस्तक दिएर कमिशनको चक्करमा लागेपछि अभिभावकले विरोध जनाएका छन्।

गल्लीमा रहेको सो स्टेसनरीमा चार घण्टा लाइनमा बसेका एक अभिभावकले केही प्रतिशत छुट माग्दा सो स्टेसनरी सञ्चालकले छुट दिन नमिल्ने भन्दै मनलागे ‘किन्नुस् मन नलागे नकिन्नुस्’ भन्दै फर्काउने गरेको गुनासो आएको छ।

सामान्यतया नेपाली प्रकाशकले प्रकाशन गरेको पुस्तकमा २५ र भारतीय प्रकाशनमा १५ प्रतिशतसम्म छुट पाउने गरेको अभिभावकको भनाइ छ। विद्यालयलाई कमिसन आउने भएपछि व्यवसायीले अभिभावकलाई छुट दिन छाडेको आरोप लगाउँदै अभिभावक संघ नेपालका वरिष्ठ उपाध्यक्ष सरिता अर्यालले यस्ता स्टेसनरी र कमिशन लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्यालय र व्यापारीबीच मिलेमतोका कारण अभिभावक मार्कामा परेका छन्। गल्ती गर्ने दुवै निकायलाई कारबाही गर्नुपर्छ।’

पीएसले पुस्तक विवरण पेस गर्दा लाइनमा बस्नुपर्ने, भनेजति पुस्तक र कपी उपलब्ध नहुने गरेको अभिभावकको गुनासो छ। न पार्किङ गर्ने ठाउँ छ न त व्यवसायीको व्यवहार नै राम्रो छ। यसको कारण वर्षेनी अभिभावक मर्कामा पर्ने गरेका छन्।

सो स्टेसनरीले बिहान ११ देखि साँझ ६ बजेसम्म मात्र पुस्तक लिन पाइने भन्दै सबै अभिभावकलाई बाध्य पारेको छ। मोर्डन इन्डियन स्कुलको पुस्तक अचाक्ली महँगो भएको गुनासो अभिभावकको रहेको छ। सो विद्यालयमा नेपाली माध्यमको पुस्तक र कपीको सेटको ९ हजार ९ सयदेखि १० हजार ४ सय रहेको छ।

अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले करिब ४ हजार मूल्य पर्ने पुस्तक र कपीको मूल्य १० हजारसम्म लिनु लुट भएको बताउनुभयो। सो विद्यालयको कक्षा १ को नेपाली माध्यमको पुस्तकको मूल्य ४ हजार ५ सयदेखि ५ हजार र यूकेजीको २ हजार ८ सयदेखि ३ हजार रुपियाँसम्म रहेको छ।

अस्वाभाविक रूपमा मूल्य कायम गर्नु गलत भएको बताउँदै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष हरि अर्यालले अस्वाभाविक काम गर्नेमाथि करबाही गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘एउटै स्टेसनरीबाट पुस्तक खरिद गर्न बाध्य बनाउनु नै स्कुलको गलत प्रवृत्ति हो। विद्यालय र स्टेशनरी व्यवसायीको अस्वाभाविक सम्बन्धलाई तत्काल हटाउनु जरुरी भएको छ।’ तीन विद्यालयले जबर्जस्ती एउटै स्टेसनरीबाट पुस्तक खरिद गर्नुपर्ने व्यवस्था नै गलत भएको उहाँको भनाइ थियो।

छुट दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार व्यावसायीको भएको तर्क राख्दै उहाँले भन्नुभयो– ‘तर कुन स्टेसनरीबाट पुस्तक खरिद गर्ने भन्ने विषयको अधिकार सबै अभिभावकलाई हुनुपर्छ।’ स्कुलबाटै पुस्तक बिक्री गर्दा आन्दोलन गर्ने व्यवसायीले एउटै स्टेसनरीबाट पुस्तक खरिद गर्ने एकाधिकारलाई रोक्न नसक्नु विडम्बना भएको छ।
प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले विद्यालयले सूची उपलब्ध गराएपछि पायक पर्ने स्टेसनरीबाट पुस्तक पाउने व्यवस्था गर्नु आवश्यक भएको बताउँदै मनोमानी गर्ने विद्यालय र व्यावसायीलाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी यो विषयमा गम्भीर भएका छौं, सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने तयारी गरेका छौं।’ व्यावसायी र विद्यालयबीचको कमिशनको चक्करले गर्दा भर्नाको समयमा लाखौं अभिभावक प्रत्यक्ष रूपमा मर्कामा परेका छन्।

विद्यालय हाताबाट स्टेसनरी बिक्री गर्न रोक लगाए पनि व्यापक रूपमा कमिशनको चलखेल हुने गरेको अभिभावक संघका पूर्वअध्यक्ष भण्डारीको धारणा थियो।