काठमाडौँ, ५ वैशाख । बौद्ध फूलबारीस्थित ठारिग गुम्बामा विश्व शान्तिको कामना गर्दै ‘ओम मणि पद्मे हूँ’ नामक मन्त्र दश करोड पटक जप गरेका छन् ।
महायानी सम्प्रदायका धर्मावलम्बीले तिब्बती पात्रोअनुसार प्रत्येक वर्षको चौथो महिना (सागा दावा)लाई पुण्य सञ्चय गर्ने महिनाका रुपमा आध्यात्मिक गतिविधि गर्छन् । यसै क्रममा सो गुम्बामा आज ‘धेलिङ मणि धुङ्डुप’ नामक धार्मिक संस्थाद्वारा ‘४२औँ मणि धुङ्ग्युर’ कार्यक्रम पूरा गरिएको हो । सो क्रममा भक्तजनले ‘ओम मणि पद्मे हूँ’ नामक मन्त्र जप गरेका थिए । करिब पाँच सय भक्तजनले दुई साताअगाडि देखि मन्त्र जप गर्न सुरु गरेका थिए ।
आजै एक हजार पाँच सय धर्मावलम्बीले विधिविधानानुसार अभिषेक लिँदै विश्व शान्ति तथा समग्र प्राणीजगत्को कल्याणका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतको देहरादूनबाट आउनुभएका खङ्सार स्याडुन रिन्पोछेले स्वदेशी तथा विदेशी भक्तजनालाई अभिषेक प्रदान गर्दै मानव जीवन दुर्लभ रहेकाले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । यस्ता आध्यात्मिक गतिविधिले मानवकल्याण तथा विश्व शान्तिका लागि अभिप्रेरित भई जीवनलाई सार्थक बनाउनका लागि गुरुले निर्देशन दिनुभयो । उहाँ विशेष समारोहमा सहभागी हुन केही दिनअघि नेपाल आउनुभएको हो ।
ती अनुयायीको विश्वासानुसार ‘ॐ’ उच्चारण गर्दा देवलोकको दुःख हरण हुने गर्छ, त्यस्तै ‘म’बाट असुर लोक, ‘णि’बाट मनुष्य लोक, ‘प’ बाट पशु लोक, ‘ द्मे ’ बाट प्रेत लोक र ‘हूँ’ बाट नरक लोकको दुःख हरण हुन्छ । बौद्ध विद्वान् टीका शेर्पाका अनुसार सो मन्त्र उच्चारण गर्दा आउने कम्पनले मानिसलाई एक प्रकारको शक्ति प्रदान गर्ने र त्यहाँ सहभागीलाई त्यसको सकारात्मक प्रभाव पर्छ । विश्व ब्रह्माण्डबाट आउने तरङ्गमध्ये सकारात्मक ऊर्जा सङ्ग्रह भई सम्पूर्ण प्राणीजगत्प्रति कल्याणको भावना विकास हुन्छ ।
कार्यक्रमका संयोजक टासी नाम्गेलले धेलिङ मणि धुङ्डुप नामक धार्मिक संस्थाले चार दशकदेखि सो परम्परालाई अहिलेसम्म निरन्तरता दिएको जानकारी दिँदै हिमाली भेगमा यस्तो अभ्यासको विशेष महत्व रहेको बताउनुभयो । महायानी सम्प्रदायमा ञिङ्मा, काग्यु, शाक्य र गेलुक परम्पराको फरक फरक अभ्यास तथा धार्मिक गतिविधि गरिन्छ । शाक्य परम्पराका अनुयायीले सो धार्मिक गतिविधि गर्दा गैरबौद्ध धर्मावलम्बीसमेत सहभागी थिए । रासस
प्रतिक्रिया