गठबन्धन आन्दोलनका कार्यक्रम घोषणा गर्दै


बीपी साह, काठमाडौं

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धन र नयाँ शक्ति पार्टीसहितको ६८ दलीय गठबन्धनले संयुक्त रूपमा आन्दोलन गर्ने भएका छन्। दुवै गठबन्धनबीच संयुक्त रूपमा राष्ट्रिय आन्दोलन गर्ने सैद्धान्तिक सहमति भएको छ।

शनिबार साँझ संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा संघीय गठबन्धन र ६८ दलीय गठबन्धनका नेताहरूबीच भएको वार्ताले संयुक्त रूपमा आन्दोलन गर्ने सैद्धान्तिक सहमति भएको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले बताउनुभयो। आइतबार पुनः छलफल गरेर साँझसम्म संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका लागि आह्वान गर्ने सहमति भएको यादवले जानकारी दिनुभयो।

त्यसअघि संघीय गबठन्धनको बैठकले निर्वाचन बिथोल्न आम हडतालसहितका आन्दोलनका कार्यक्रमबारे छलफल गरेको छ। शनिबार दिउँसोबाट शुरू भएको बैठकले साँझसम्म आन्दोलनका ठोस खाका तयार पार्न नसकेपछि आइतबार बिहान ९ बजे आन्दोलनको अन्तिम खाका तयार पार्ने र दिउँसो ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले नेपाल समाचारपत्रलाई बताउनुभयो।

झाका अनुसार शनिबारको बैठकमा देशव्यापी आम हडताल तथा अनिश्चितकालीन बन्दको कार्यक्रमहरूका विषयमा छलफल भएको छ। निर्वाचनलाई केन्द्रमा राखी आन्दोलनका कार्यक्रमहरू तय गरिने झाले बताउनुभयो।

मधेसी मोर्चाले निर्वाचन बहिष्कार गर्दै यसअघि नै आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ भने संघीय गठबन्धनले निर्वाचन बहिष्कारको घोषणा गरे पनि आन्दोलनको घोषणा गरेको छैन। आइतबार मात्रै आन्दोलनको खाका आउने गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले बताउनुभयो।

त्यस्तै, संघीय गठबन्धन र ६८ दलीय गठबन्धनको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक एवं गठबन्धनका संयोजक डा. बाबुराम भट्टराईसहितका नेताहरू सहभागी थिए।