तीनकुनेमा खुला पार्क बनाइने


नेपाल समाचारपत्र
काठमाडौं

काठमाडौ महानगरपालिकाले तीनकुनेको करिब ४२ रोपनी खाली जग्गामा खुला पार्क निर्माण प्रकृया शुरु गरेको छ। पटकपटक निर्माण गर्ने तयारी भए पनि मुआब्जाका कारण विवादित बन्दै गएको तीनकुनै पार्कको चार दिन अघिदेखि निर्माण शुरु भएको हो।

पार्कको बीचमा नेपालको झण्डासहित मर्निङवाक गर्न मिल्ने गरी पार्क निर्माण शुरु गरिएको हो। पर्यटकको आँखामा राजधानी छिर्नासाथ अति फोहोर र सवारी साधन सिक्ने स्थानका रूपमा रहेको सो पार्कमा कार्पेट घाँस रोप्ने, फुटपाथ निर्माण गर्ने , तीनमिटर फराकिलो फुट ट्रायल निर्माण गर्नेलगायतका काम शुरु गरिएको हो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले पहिलो चरणमा करिब ६० लाख रुपियाँको लागतमा पार्क निर्माण शुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘जस्ता हटाएर सम्याउने काम शुरु गरिसकेका छौं, खुला राखिने सो पार्कका गाईवस्तु छिर्न नदिन महानगरको प्रहरी तैनाथ गरिएको छ।

बिहान र बेलुकी खुला स्थान रोज्ने राजधानीवासीका लागि यो स्थान प्रयोग गर्नसक्ने गरी निर्माण गर्न लागिएको श्रेष्ठको भनाइ छ। २०३१ सालमा अधिग्रहण गरिएको तीनकुने पार्कको बेहाल भएपछि करिब ६ महिनाभित्र सक्ने गरी निर्माण गरिन लागिएको हो। हाल काठमाडौमा शंख, रत्न, बालाजु, माइतीघर गरी चारवटा ठूला र करिब ३० वटा साना पार्क रहेका छन्।