उत्तर कोरियाद्वारा अमेरिकालाई उक्साउने कृयाकलाप नगर्न चेतावनी


प्योङयाङ छोड्न नागरिकलाई आदेश

सोल, (एजेन्सी)
उत्तर कोरियाले अमेरिकालाई उक्साउने कृयाकलाप नगर्न चेतावनी दिँदै अन्यथा आफू परमाणु हमलासँगै जवाफी हमला गर्नका लागि तयार रहेको बताएको छ।

उत्तरकोरियाका संस्थापक किम इल सुंगको १ सय ५ वर्षगाँठ मनाउने क्रममा उक्त चेतावनी आएको हो। यस अवसरमा राजधानी प्योङयाङमा उत्तर कोरियाले आफ्नो सैन्य शक्तिको प्रदर्शन गरेको थियो। ट्यांक तथा अन्य रक्षा संयन्त्रहरूसँगै सैनिकहरूको भब्य परेड निकालिएको थियो।

उत्तर कोरियाका सैन्य अधिकारी चोइ रायोङले भने (हामी युद्धका लागि पूर्ण रूपमा तयार छौं। कुनै पनि परमाणु आक्रमणको जवाफ आफ्नो शैलीमा दिनका लागि हामी तयार छौं।

अप्रिल १५ उत्तर कोरियाको राष्ट्रिय दिवश हो। हजारौं संख्यामा उत्तर कोरियाका सैनिक देशका संस्थापक किम इल सुङको १०५औं जन्मजयन्तीको समारोहमा सहभागी भए।

समारोहका लागि राजधानी प्योङयाङका सडकहरूलाई झकिझकाउ गरिएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले परेडमा सलामी लिएका थिए। शहरको वातावरण उल्लासमय र विदाको जस्तो वातावरण थियो। सामान्य रूपमा विश्वबाट अलग्ग रहने गरेको उत्तर कोरियाले विदेशी सन्चार माध्यमहरूलाई पनि यस समारोहको समाचार संकलनका लागि बोलाएको छ।

परेडमा उत्तर कोरियाले पहिलोपटक पनडुब्बीबाट प्रहार गर्न सक्ने क्षेप्यास्त्र पनि प्रदर्शन गरेको छ। यो क्षेप्यास्त्रले परमाणु हतियार बोक्न सक्छ र यसले लामो दूरी प्रहार गर्न सक्ने क्षमता राख्छ। समारोहमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रमलाई लिएर अत्यन्त गम्भिर रहेको प्रष्ट देखिने जनाइएको छ। अमेरिकासहित विश्वका थुप्रै देशले उत्तर कोरियामाथि परमाणु कार्यक्रम छोड्न दबाब दिँदै आइरहेका छन्। यद्यपि उत्तर कोरियाले यो दबाबलाई कुनै महत्व दिएको छैन।

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणले पूरै कोरियाली प्रायद्विपमा तनावको स्थिति रहेको छ। जापान र दक्षिण कोरियाले ती परीक्षणलाई लिएर कडा आपत्ती जनाएका छन् र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले यस मुद्दामा चर्चा गर्न आपतकालीन बैठकसमेत बोलाएको थियो।

युद्धको तयारी, नागरिकलाई राजधानी छोड्न आदेश
यसबीच अमेरिकासँगको बढ्दो तनावलाई लिएर उत्तर कोरियाले केही युद्धका लागि पूर्वतयारी कदम चालेको संकेत दिएको छ। कोरियाली प्रायद्विपमा अमेरिकाका युद्धपोत तैनाथ गरिएपछि उत्तर कोरियाली नेता किम जोङ उनले नागरिकलाई राजधानी छोड्न आदेश दिएका छन्।

अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई ध्यानमा राखी युद्धपोतहरू तैनाथ गरेको हो। रुसी अखबार प्राभ्दाका अनुसार किमले ६ लाख नागरिकलाई शहर छोड्न आदेश जारी गरेको हो। यो शहरको आवादीको २५ प्रतिशत हो। दक्षिण कोरियाका सञ्चारमाध्यमले प्योङयाङमा धेरैले शहर छोडेको उल्लेख गरेको छ। ती सञ्चार माध्यमले पनि शहर खाली गराउनुको पछाडि उत्तर कोरिया र अमेरिकाबीचको बढ्दो तनाव जिम्मेवार रहेको बताइएको छ।

न्युज एसियाका बेइजिङ संवाददाता जेरेमी कोहले ट्विटमा आफूहरूलाई पनि बिहान ६ः२० बजे सम्ममा प्योङयाङ छोड्न भनिएको उल्लेख गरेको छ।

शनिबार अप्रिल १५ को राष्ट्र संस्थापक किम इल सुङको १०५औं जन्मजयन्तीका अवसरमा प्योङयाङमा हुने समारोहका लागि अहिले २ सयको संख्यामा विदेशी संवाददाताहरू त्यहाँरहेका छन्।

विगतको एक महिनामा उत्तर कोरियाले दोस्रोपटक सी अफ जापानमा क्षेप्यास्त्र प्रहार गर्यो। अमेरिकाले पछिल्लो गतिविधि र उत्तर कोरियाको परमाणु कार्यक्रमलाई ध्यानमा राखेर कोरियाली प्रायद्विपमा स्ट्राइक ग्रुप पठाएको छ। उक्त आक्रामक दस्तामा निमित्व क्लास एयरक्र्याफ्ट युएसएस कार्ल विन्सन, एउटा करियर विंग, दुईवटा क्षेप्यास्त्र डेस्ट्रायर र एउटा गाइडेड मिसाइल क्रुजर रहेको छ।

अमेरिकाको उक्त कदम गलत भएको बताउँदै किम जोङले अमेरिकासँग युद्धका लागि तयार रहन सेना र जनतालाई आदेश दिएको छ। यसबीच चीनले युद्धको आशंका बढेपछि उत्तर कोरियासँगको सीमामा आफ्ना डेढ लाख सैनिक जवान तैनाथ गरेको छ।