बढ्दै घडीको आयात



नेपाल समाचारपत्र
काठमाडौं
समयको जानकारीका लागि घडी कै भरपर्नुपर्ने अवस्था अहिले छैन। हरेक व्यक्तिको हात हातमा देखिने मोबाइल र ग्याजेटले समयको जानकारी गराउने भएपनि नाडीको शोभा बढाउनका लागि भने घडीकै प्रयोग भईरहेको छ। अहिले केही व्यक्तिका लागि घडी दैनिक प्रयोगको अत्यावश्यक वस्तु हो भने केहीका लागि फेसनको अभिन्न अंग बनिरहेको छ।

त्यसो त विभिन्न मोबाइल उत्पादक कम्पनीहरूले घडी जस्तै नाडीमा लगाउन मिल्ने र विभिन्न सुविधा सहित ‘वाच मोबाइल’ पनि बजारमा ल्याए। तर पनि वाच मोबाइलले पुरानै प्रविधिका घडीलाई विस्थापित भने गर्न सकेनन्।

नेपालमा घडी र यसका पार्टपुर्जालगायत सामानको आयात वर्षेनी बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७१⁄७२ मा ५५ करोड ६२ लाख रुपियाँ बराबरको घडी आयात भएकोमा गत आर्थिक वर्ष २०७२⁄३२ को अन्त्यसम्ममा करिब ७२ करोड ७० लाख रुपियाँ बराबरको घडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा विभिन्न भन्सार कार्यालयले ५४ करोड ९५ लाख ७५ हजर रुपियाँ बराबरको घडी र यसका पार्टपुर्जाहरू नेपालमा आयात भएकोछ। त्यस्तै यस्ता वस्तुको नेपालबाट निर्यात भने १ लाख ९२ हजार रुपियाँ बराबर मात्रै भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। जुन परिमाण गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा झण्डै ११ करोडले बढी हो। आर्थिक वर्ष २०७२⁄७३को आठ महिना अवधिमा करिब ४३ करोड ६२ लाख रुपियाँ बराबरको घडी नेपालमा भित्रिएको थियो।

विभाग तथ्यांक अनुसार नेपालबाट घडी र विभिन्न पार्टपुर्जाको निर्यात पनि हुने गरेको छ। आर्थिक वर्ष २०७१⁄७२ मा १ करोड ३३ लाख ७८ हजार रुपियाँ बराबरको निर्यात देखिएकोमा गत आर्थिक वर्षमा भने निर्यात निकै घटेको देखिएको छ। आर्थिक वर्ष २०७२⁄७३ मा १ लाख ३६ हजार रुपियाँ बराबर मात्रै निर्यात भएको छ। चालू आर्थिक वर्षको ८ महिना अवधिमा १ लाख ९२ हजार रुपियाँ बराबरको निर्यात नेपालले गरेको छ।

विगत ७ वर्षदेखि काठमाडौंको न्युरोडमा विभिन्न ब्रान्डका घडीको व्यापार गर्दै आएका विजय भण्डरीले अहिले पनि घडीको व्यापारमा कुनै कमी नआएको बताउनुभयो।‘हामी कहाँ नाडीमा ठाँटिएको घडीलाई व्यक्तित्वसंग पनि दाँजेर हेरिन्छ, त्यही भएर पनि मोबाइलले घडीको ठाउँ लिन सकेको छैन’–भण्डारीले भन्नुभयो।

नेपालमा सामान्य खालकादेखि ब्रान्डेड र एकदमै महंँगो मूल्य भएका घडीहरूको व्यापार हुन्छ। विश्वभर नै ख्यातीप्राप्त अन्तर्राष्ट्रिय ब्रान्डहरू राडो, रोलेक्स, टाईटन, टाईमेक्सलगायतका विभिन्न उत्पादन नेपालमा भित्रिन्छन्।

सगरमाथा बेसक्याम्पमा पाइने पत्थरबाट बनेको ‘कोबोल्ड हिमालय’ नामको घडी विश्व बजारमा निकै लोकप्रिय छ। उक्त घडीको मूल्य १३ लाख रुपियाँभन्दा बढी छ।

प्रतिक्रिया दिनुहोस्