मकवानपुरमा मिसन पिग एण्ड पोर्क


हेटौंडा,(नेस) ।
जिल्ला पशु सेवा कार्यालय मकवानपुरले चालु आर्थिक वर्षमा किसानलाई पशुपालनमा १८ लाख रुपियाँ अनुदान दिएको छ । पशुपालनमा युवाको आकर्षण बढाउन र व्यावसायिक पशुपालन प्रवद्र्धन गर्ने उद्देश्यसाथ पशु सेवा कार्यालयले अनुदानको कार्यक्रम सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्षमा जिल्ला पशुसेवा कार्यालयले मिसन बाख्रा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । मिसन बाख्रा कार्यक्रमतर्फ थाहा नगरपालिका–९, थाहा पौरखी पशुपालन समूह, रत्न बहादुर जिम्बा धियाँल–७ को जनउत्थान बाख्रापालन समूह, मकवानपुरगढी–६ को श्रमिक साना किसान सहकारी संघ लिमिटेडकी निर्मलाकुमारी लम्साल, हेटौंडा–२८ का गोविन्दप्रसाद सुवेदीको सिमलथली बाख्रा उत्पादन केन्द्र, भैंसे–४ की सरितामाया लामाको नमूना बाख्रा विकास फार्म, आमभञ्ज्याङ–२ को जयकिसान बाख्रा केन्द्र, धियाँल–७ का नारायणप्रसाद तिमल्सिनाको धियाँल बाख्रापालन केन्द्र, सुकौरा–५ का सिंहबहादुर मुक्तानको प्रगतिशील सिर्जना बाख्रा फार्मलाई अनुदान उपलब्ध गराइनेछ ।

मिसन पिग एण्ड पोर्क कार्यक्रमअन्तर्गत् पुरी फार्म हाउस, लामा बंगुर बिडर फार्म, बराल बंगुर विकास फार्म, भवानी कृषि फार्म, पोताला बंगुर फार्म हेटौंडा, विकास पशुपालन फार्मलाई दिने उल्लेख छ ।

चालु आवमा कार्यालयले व्यावसायिक र उत्कृष्ट पशुपालन गर्ने किसानलाई अनुदान रकम उपलब्ध गराउने भएको हो । कार्यालयले अनुदान पाउने किसानहरुको नामावली सार्वजनिक गरेको छ । कार्यालयले गाईभैंसी प्रवद्र्धनतर्फ साना व्यवसाय कार्यक्रमअन्तर्गत् ८ लाख ५० हजार बराबरको अनुदान रकम कृषकलाई उपलब्ध गराउने भएको छ ।

गाईभैंसी प्रवद्र्धनतर्फ साना व्यवसाय कार्यक्रमअन्तर्गत् कार्यालयले मकवानपुरगढी–६ का नरेन्द्र लम्सालको सुजल गाई फार्मलाई १ लाख ८५ हजार रुपियाँ अनुदान उपलब्ध गराएको छ । लम्सालको गाई फार्ममा १० वटा गाई छन् । हाँडीखोला–६ कीे नानीमाया ढकालको सिर्जनशील गाई फार्मलाई कार्यालयले १ लाख ६६ हजार उपलबध गराउने भएको छ । ढकालले ९ वटा गाई पाल्नुभएको छ ।

आमभञ्ज्याङ ३ का स्वरोजगार एकीकृत पशु विकास फार्मका विदुर हुमागाईले ९ वटा गाई पाल्नुभएको छ । उहाँलाई कार्यालयले १ लाख ६६ हजार रुपियाँ अनुदान उपलबध गराउने भएको छ । मकवानपुरगढी–९ का कविन्द्र थापाको जीवीएस एग्रो प्रालिले १० वटा गाईपालन गरिरहेको छ ।

प्रालिलाई कार्यालयले १ लाख ८५ हजार अनुदान उपलब्ध गराएको छ । मकवानपुरगढी–७ का हरिप्रसाद कँडेलले दुर्गा गाई फार्ममा ८ वटा गाईपालन गर्नुभएको छ । कार्यालयले फार्मलाई १ लाख ४८ हजार अनुदान उपलब्ध गराएको छ ।
कार्यालयले गाईभैसी प्रवद्र्धनतर्फ मझौला व्यवसाय कार्यक्रमअन्तर्गत् मकवानपुरगढी–५ का प्रेमप्रसाद दहालको देवीडाँडा गाई फार्मलाई अनुदान उपलब्ध गराएको छ । कार्यालयले फर्मलाई २ लाख ५० हजार अनुदान उपलब्ध गराएको जनाएको छ । दहालको फार्ममा २० वटा गाई छन् ।

युवालक्षित बाख्रा प्रवद्र्धन कार्यक्रमतर्फ ४ लाख अनुदान दिने कार्यक्रम थियो । यूवालाई व्यावसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ ।

आमभञ्ज्याङ–४ का रोमनाथ बजगाईको जनमुखी बाख्रा फार्मलाई २ लाख रुपियाँ अनुदान दिइएको छ । चित्लाङ–३ का हिराध्वज रानाभाटको प्रकृति फार्म हाउस प्रालिलाई २ लाख अनुदान उपलब्ध गराइएको छ ।

कार्यालयले यस वर्ष व्यावसायिक गाईभैंसी फार्मलाई सहकार्यमा २ वटा गोठसुधार गर्न ३ लाख अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ । जसमा आमभञ्ज्याङ–४, कामधेनुका गीतानाथ हुमागाईंको गाई फार्मलाई गोठसुधार कार्यक्रमअन्तर्गत् १ लाख ५० हजार अुनदान उपलब्ध गराउने भएको छ ।

हेटौंडा–२४ का प्रवीण नेपालको नेपाल भैंसी फार्मलाई १ लाख ५० हजार अनुदान दिइएको छ ।