मधेसी समुदायको माग पुरा गरेरै निर्वाचन– उर्जा मन्त्री शर्मा


धनवीर दाहाल, रुकुम ।
ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा हुने बताउनुभएको छ । उहाँले मधेसी समुदायको माग पुरा गरेरै तोकिएको समय आगामी २०७४ बैसाख ३१ गते स्थानीय तहको निवार्चन हुने दावी गर्नुभयो ।

रुकुमको रेडियो सानीभेरीको १० औं बार्षिकउत्सवको अवसरमा आयोजित ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने धारणा राख्नुभएको हो । सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुर्याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको मन्त्री शर्माको भनाइ थियो ।

उहाँले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिनुभयो । सरकारले विद्युत उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उहाँले बताउनुभयो ।