राज्य पुनःसंरचना अहिलेसम्मकै ठूलो उपलब्धि : उपप्रम थापा


नुवाकोट, २३ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राज्य पुनःसंरचना अनुरुपको स्थानीय तहको कार्यान्वयन अहिलेसम्मको सबैभन्दा ठूलो परिवर्तन भएको बताउनुभएको छ ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज यहाँ निर्देशन दिँदै उहाँले सात दशकदेखि सञ्चालन हुँदै आएको स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरी राज्यबाट प्रवाह गर्ने अधिकांश अधिकारसहितको कार्य क्षेत्रको रुपमा कार्यान्वनयमा आएको राज्यको पुनःसरचना असामान्य र आमूलपरिवर्तन हो भन्नुभयो ।

उपप्रधानमन्त्री थापाले “हामीले नेपालको इतिहासको राज्य सञ्चालनमा विभिन्न स्वरुपको अभ्यास र अनुभव हासिल गरेका छौ” भन्दै “अहिले परिवर्तन भएको स्थानीय शासन व्यवस्था त्यो रुपमा मात्र होइन, सारमा पनि परिवर्तन भएको छ, यो सामान्य घटना र सामान्य परिवर्तन होइन, एक चमत्कारी घटना हो बताउनुभयो ।”

अहिले स्थापना भएका स्थानीय तह स्थानीय सरकारको परिकल्पनास्वरुप संविधानले नै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको अधिकार सम्पन्न शासन व्यवस्था सञ्चालनको अधिकार किटान गरेकाले अब मुलुकमा विकासको मूल फुट्ने बताउँदै उहाँले “अहिले कायम भएका स्थानीय तह स्थानीय सरकारको अवधारणा अनुसार संविधानमा नै अधिकार र कार्यक्षेत्र उल्लेख गरी निर्माण भएका शक्तिशाली संरचना हो, यसलाई नामाङ्कन र सीमाङ्नको रुपमा मात्र होइन, नयाँ नेपाल निर्माणको परिकल्पनाको कोसेढुङ्गा हो भन्नुभयो ।”

उपप्रधानमन्त्री थापाले राज्य पुनःसंरचना अनुसारको स्थानीय तह कार्यान्वयनको लागि हुन लागिरहेको स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै राजनीतिक र मानसिक दुबै रुपमा यसलाई आत्मसाथ गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रारम्भिक चरणमा केही अन्योल, अस्पष्टता र विरोधआभास पनि हुनसक्छन्, यसलाई ठूलो महत्व र अवसरको रुपमा लिएर त्यसलाई सस्थागत गर्न तर्फ लाग्न उहाँले आग्रह पनि गर्नुभयो ।

सो अवसरमा नुवाकोटका स्थानीय तहमा कार्यरत कर्मचारीले कार्यालय सञ्चालनमा भौतिक संरचना, विकासका न्यूनतम पूर्वाधार बैंङ्किङ तथा वित्तीय व्यवस्थापन, सुरक्षाको बन्दोबस्ती प्रर्याप्त नहुदाँ सेवा सञ्चालनमा समस्या आएको गुनासो गरेका थिए । रासस