निर्वाचन सके टार्ने,नसके सार्ने खेल भइरहेको छ – महासचिव पोखरेल

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

एमाले महासचिव इश्वर पोखरेलले आगामी बैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन गर्न नचाहने तत्वहरुले निर्वाचन सार्ने तानावाना बुनिरहेको बताउनुभएको छ । महासचिव पोखरेलले निर्वाचनबाट डराएका केही दल निर्वाचन टार्ने त्यो नसके कुनै हालतमा सार्ने खेलमा लागेको बताउनुभयो । भक्तपुरको सल्लाघारीमा मंगलबारदेखि सुरु भएको औद्योगिक तथा व्यापार मेलामा बोल्दै उहाँले राजनीतिक स्थिरता र दिगो विकासका लागि कार्यकारी अधिकार सहितको स्थानीय तह, प्रदेश तह र केन्द्रिय तहको निर्वाचन आवश्यक रहेको बताउनुभयो ।

संविधान कार्यान्वयनको प्रमुख आधार तिन तहको निर्वाचन भएकाले पोखरेलले पहिलो सरकार अर्थात स्थानीय तहको निर्वाचन कुनै हालतमा निर्धारित वैशाख ३१ गते नै हुनुपर्ने बताउनुभयो । उहाँले कुनै हालतमा कुनै शक्तिले बैशाख ३१ को निर्वाचन रोक्न वा सार्न नसक्ने उल्लेख गर्नुभयो । महासचिव पोखरेलले संविधान संशोधन गरौं भन्ने वकिलहरुले संशोधन किन र के का लागि भन्ने तर्क संगत आधार प्रस्तुत गरेर देखाउन चेतावनी समेत दिनुभयो ।

नेता पोखरेलले लोकतन्त्रमा अराजकताको अन्त्य नगरेसम्म मुलुकको विकास नहुने भन्दै मुलुकको समग्र विकासका लागि संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।