सप्तरी, २२ चैत । सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लगाइएको ताला पाँच दिनपछि आज खुलेको छ ।
पत्रकार पोखरेलको पहलमा सोमबार बिहान छलफलपछि सहज वातावरण बनाउन दुवै पक्षले सहमति जनाएपछि समिति र कार्यालय प्रमुखको कार्यकक्षमा लगाएको ताला खोलिएको पत्रकार पोखरेलले बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्ले कार्यालय प्रमुख लक्ष्मण मण्डललाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति विराटनगरमा सरुवा तथा प्रशासकीय अधिकृत महेन्द्रप्रसाद यादवलाई कार्यालय प्रमुखको जिम्मेवारी दिनुपर्ने माग गर्दै समितिका उपाध्यक्ष धीरेन्द्र बर्माले गत बिहीबार कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएको थियो । सोही दिन कर्मचारी सङ्घले समेत समितिको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
सरुवा भएका कार्यालय प्रमुख मण्डल, कार्यालय प्रमुखको नयाँ जिम्मेवारी पाएका यादव, समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा, सदस्य अशोक यादव, कर्मचारी सङ्घका उपाध्यक्ष रमेश साह, प्रशिक्षण विभाग प्रमुख दिनेश भुजेललगायत प्रशिक्षकहरु र कर्मचारीको उपस्थितिमा ताला खोलिएको बताइएको छ । रासस











प्रतिक्रिया