तीन हजार मतदाता घटे


रत्ननगर (चितवन), २० चैत । स्थानीय निकायको निर्वाचनका लागि चितवनमा यस वर्ष १६१ मतदान स्थलमा ३७६ मतदान केन्द्र तय गरिएको छ ।

मतदाताको सङ्ख्या हेरेर एक हजार बढी मतदाता भएको मतदानस्थलमा मतदान केन्द्र थपिने छ । सोही अनुसार एउटा मतदानस्थलमा क, ख, ग, घ, ङ गरेर केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।

“एउटै मतदानस्थलमा पाँचवटासम्म केन्द्र तय भएका छन्,” उहाँले भन्नुधभयो । आयोगले मतदाता सङ्ख्या पुनरावलोकन गरिरहेकाले अझै हेरफेर हुनसक्ने ढकालको भनाइ छ । नाम जुधेका र दोहोरिएकाको नाम हटाउने चरणमा निर्वाचन आयोग लागेको छ । दोहोरिएको र जुधेको नाम हटाउँदा आजसम्म जिल्लामा कुल तीन लाख १३ हजार एक मतदाताको नामावली आइपुगेको उहाँले बताउनुभयो ।

यसअघि निर्वाचन कार्यालयले कुल तीन लाख १५ हजार ९३७ मतदाता सार्वजनिक गरेको थियो । जुधेको नाम हटाउँदा अहिले जिल्लामा झन्डै तीन हजार मतदाता घटेका छन् । भरतपुर महानगरपालिकामा ६५ वटा मतदानस्थल, रत्ननगर नगरपालिकामा २१, खैरहनीमा १७, राप्तीमा १८ र कालिका नगरपालिकामा ११ तथा इच्छाकामना गाउँपालिकामा १४ वटा मतदानस्थल बनाइएको छ ।

यसपटक भरतपुर महानगरपलिकामा पाँच, रत्ननगर नगरपालिकामा एक, खैरहनीमा चार, राप्तीमा चार, कालिकामा एक र इच्छाकामना गाउँपालिकामा पाँचवटा मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस