संशोधन प्रस्तावले मधेसी जनताको भावना सम्बोधन हुन्छ– देउवा


विराटनगर, १८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावले मधेसी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ ।

काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित जिल्ला सम्मेलनको शुभारम्भ गर्दै नेता देउवाले विभिन्न शक्तिले मधेस, पहाड र हिमाललाई विभाजन गरेर एकापसमा अविश्वास र विखण्डनको स्थिति सिर्जना गर्न लागिपरेको उल्लेख गर्नुभयो ।

विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता प्रकट गर्दै उहाँले तोकिएको समयमै स्थानीय निकायको निर्वाचनका लागि एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसभित्रै साम्प्रदायिकता तथा जातीय विभेदको सोच भएकाले त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र डा डिला सङ्ग्रौला तथा सांसद अमृत अर्यालले विराटनगरलाई महानगरपालिका बनाउने विषयलाई शीघ्रता दिनुपर्नेमा जोड दिनुभएको थियो । रासस