घोडामा पानी बोकाएर विद्यालय मर्मत


 

सल्यान चैत १८ ।

गत वर्षको हावाहुरीले विद्यालय भवनलाई जिर्ण बनाएपछि सल्यानको एक विद्यालयले घोडामा पानी बोकाएर विद्यालय मर्मत गरि रहेको छ ।

सल्यानको जिमालीमा रहेको एक विद्यालयले घोडामा पानी बोकाएर विद्यालय मर्मत शुरु गरेको जनाएको छ । कुमाख मालिका गाउँपालिका वडा नं. ७ जिमाली विर्केनेटीमा रहेको विर्केनेटी आधारभुत विद्यालयले यसरी विद्यालय मर्मत कार्य थालेको हो ।

विद्यालयदेखि झण्डै एक किलोमिटर तलबाट घोडाले वोकेर ल्याएको पानीले विद्यालयको मर्मतको काम भैरहेको विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर बुढाथोकीले बताए ।

उनले भने –“घोडाले एकपटकमा दुईघण्टा लगाएर ७० लिटर पानि ल्याउछ र १ सय ५० रुपैँया लैजान्छ ।” एक दिनमा एउटा घोडाले ३ सय ५० लिटर पानी वोक्ने गरेको बुढाथोकीले बताए । “दिनमा ३ वटा घोडाले पानी बोक्छन्” उनले भने–“खोलोको पानी भनेर के गर्नु दैनिक प्रति लिटर साढे दुई रुपैँया दरले पानी किनेर विद्यालय मर्मत गरिरहेका छौँ ।”

विद्यालय मर्मतका लागी सेभ द चिल्ड्रेनसँगको साझदोरीमा संचालित एकिकृत परियोजना अन्र्तरगत सवैका लागी सिकाइ कार्यक्रमले झण्डै २ लाख सहयोग गरेको उनले बताए ।
विद्यालयले नयाँ भवन निर्माणको लागी हाल सम्म कतैबाट पनि सहयोग प्राप्त गर्न सकेको छैन । कक्षा ८ सम्म संचालित विद्यालयमा हाल करिव डेढ सय विद्यार्थि अध्ययनरत छन् ।