चोरसँग खुर्सानीको धुलो


नेपाल समाचारपत्र, बाँके ।

नेपालगञ्जमा गतराती दुई ठाउँमा चोर पसे । औद्योगिक क्षेत्र अगाडिको आइएमइ र नर्सिङहोम अगाडिको मोवाइलमा तीन जना चोर पसेका थिए ।

आइएमइमा सटर, शिशा फोडेर पसेका चोरले त्यहाँ नगद भेटाएनन् । कम्प्यूटर, प्रिन्टर, ल्यापटपहरु त्यही भएपनि चोर नगदमा केन्द्रित थिए । काउन्टरमा धेरै पैसा नभेटाएपछि चोरले प्रिन्टरलाई उठाएर पछारेको देखिन्छ । आइएमइ सञ्चालकका अनुसार, तीन सयजति काउन्टरमा थियो । त्यही लिएर गएछन् । चोरी धेरै नभएपनि लाखौंको मालसमान तोडफोड भएको छ ।
त्यही चोरको समूह नर्सिङहोम अगाडि रहेको साहु मोवाइल सेन्टरमा आयो । त्यहाँ पनि सटर फोरेर भित्र पसे । त्यहाँ चोर्दा चोर्दा प्रहरी र नर्सिङहोमका गार्डले देखे । प्रहरी र गार्डले मिलेर चोरलाई समात्ने प्रयास गरे । दुई जना समातिए पनि । एकजना भने फरार भए । फरार भएका व्यक्तिले खुर्सानीको धुलो फ्याकेर भागेका थिए । खुर्सानीको धुलो परेपछि गार्डले उनलाई समात्न सकेनन् । नेपालगञ्जका राजीव गुप्ता र साहित गुप्ता भने पक्राउ परेका छन् । ‘भाग्नेको पनि पहिचान भएको छ । उसलाई हामीले खोजी गरिरहेको छौ, प्रहरीले भनेको छ ।
लागु औषधको दुव्र्यसनमा परेका किशोर÷युवाहरु यस्ता चोरीकर्ममा लागेका छन् । लागु औषध किन्ने पैसा जुटाउनका लागि उनीहरु चोरीमा लागेको पाइएको छ । बाँके प्रहरीका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाका अनुसार, चोरीमा लागेका अधिकांश लागु औषधको दुव्र्यसनमा फसेका छन् । नेपालगञ्ज बजारमा यस्ता फुटकर अपराध गर्नेले नै प्रहरीलाई हैरान बनाएका छन् ।