स्थानीय निर्वाचनमा सहभागी हुन तराई–मधेस दललाई आग्रह


काठमाडौँ, १८ चैत । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा सहभागी हुन तराई–मधेस केन्द्रित दललाई आग्रह गर्नुभएको छ ।

यहाँ आज आयोजित काठमाडौँ महानगरपालिकाकोे तत्काल सुधारको कार्ययोजना सार्वजनिकीकरण समारोहमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले २० वर्षपछि हुन लागेको चुनावमा सबै नेपाली जनतालाई सक्रिय रुपमा सहभागी हुन आग्रह गर्नुभयो । मन्त्री थापाले जनप्रतिनिधिलाई सबल, सक्षम र व्यवस्थित स्थानीत तह हस्तान्तरण गर्नका लागि तयार रहन स्थानीय तहलाई निर्देशन दिनुभयो ।

उहाँले पुरातात्विक महत्व रहेको काठमाडौँका भवनलाई संरक्षण गर्न, बालमैत्री उद्यान निर्माण तथा बर्खाको समय सुरु हुनुभन्दा पहिले नै काठमाडौँको सडकको सबै खाल्डाखुल्डी पुर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले काठमाडौँसहित अन्य तीन महानगरपालिका हुने सबै काम विद्युतीय माध्यमबाट गर्दै नागरिकलाई छिटो सजिलो र प्रभावकारी सेवा दिन कर्मचारीलाई अनुरोध गर्नुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले काठमाडौँ महानगरलाई छरितो नगरका रुपमा विकास गर्न खानेपानी, बिजुली, फोहोरमैला व्यवस्थापन, सुरक्षाको सुनिश्चिता जस्ता काममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले नगरवासीलाई अनुभूत हुने गरी काम गर्नाका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । रासस