दाङ, १८ चैत । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था गरेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गर्ने महिलामध्ये अधिकांशले उपाध्यक्ष र उपप्रमुखमै दाबी गरिरहेका छन् ।औपचारिक कार्यक्रममा बोल्ने महिला नेत्री प्रमुख नेतृत्वका लागि योग्य भएको दाबी गर्दैआए पनि नेतृत्व नै पाउनेमा भने ढुक्क बन्न सकेका छैनन् । “नेतृत्व नै माग गरेर पार्टीमा लबिङ भएको छ,” तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदका लागि नेपाली काँग्रेसको तर्फबाट दाबेदार बनेकी सुष्मा गिरीले भन्नुभयो – “महिलालाई नै प्रमुख पदमा टिकट दिन्छन् भनेमा ढुक्क हुने अवस्था छैन । त्यही भएर मैले उपप्रमुखमा दाबी गरेकी छु ।”
जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा १०० वडा छन् । ऐनअनुसार ती स्थानीय तहबाट २०० जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ ।
जिल्लामा २७ वटा राजनीतिक दल निर्वाचनमा सहभागि हुने छन् । पार्टीका सङ्गठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील भूमिका÷पद नदिने तथा निर्णायक अधिकार प्रयोग गर्ने स्थानमा महिलालाई भूमिका नदिने मानसिकता अझै बाँकी रहेकाले महिलाले स्थानीय निकायको प्रमुख पदमा दाबी गर्न नसकेका विभिन्न पार्टीका महिला नेत्री बताउँछन् । ।
“महिलाले प्रमुखमै दाबी गर्ने हो,” एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका शान्ता चौधरीले भन्नुभयो – “अधिकार प्राप्तिका लागि भोलि सहज हुन्छ ।” काँग्रेस नेत्री तथा जिल्ला कोषाध्यक्ष सावित्रा राना पार्टीले सबै कुरामा ध्यान दिएर उम्मेदवारको टुङ्गो लगाउँदा महिलालाई उपप्रमुख नै दिन सक्ने सम्भावना रहेको बताउनुहुन्छ ।
“नेतृत्व धान्न हामी महिला योग्य हुँदाहुँदै पनि केही कुरामा समझौता गर्नुपर्ने अवस्था अझै छ,” रानाले भन्नुभयो – “महिलालाई नेतृत्व दिन अझै समाज तयार छैन । यो विडम्बनासँग हामी जुझिरहेका छौँ ।”
स्थानीय तहको निर्वाचनमा हरेक वडाबाट एकजना वडाध्यक्ष र चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसमा दलित र खुला गरी दुई महिला अनिवार्य छ । “महिला सहभागिता सुनिश्चित गरिँदा महिला जागेका छन्”, रानाले भन्नुभयो – “महिलाको उत्साहलाई समाज रुपान्तरणमा लगाउन सक्नुपर्छ ।”
एमाले नेत्री चौधरी महिला प्रतिनिधित्वको सुनिश्चितताले महिलामा उत्साह र काम गर्ने जाँगर थपिएको बताउनुहुन्छ । “महिलाले नेतृत्व गर्नै सक्दैनन् भन्ने बझाइ गलत हो । त्यसलाई हटाउन यो निर्वाचन एउटा अवसर हो ।”
नेपाल महिला सङ्घ क्षेत्र नं ३ का अध्यक्ष जानका केसी महिलाले आत्मविश्वास बलियो बनाउँदै स्थानीय निर्वाचनलाई सदुपयोग गर्नसक्नु पर्नेमा जोड दिनुहुन्छ । “महिलाले काम गर्न सक्दारहेछन् भन्ने सन्देश दिएर महिला नेतृत्व स्वीकार गर्न तयार नहुने समुदायलाई व्यवहारबाट उनीहरुको सोच परिवर्तन गर्न लगाउन भूमिका खेल्ने अवसर पनि यो निर्वाचन हो,” उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसबाट घोराही उपमहानगरपालिकाको उपप्रमुख पदमा सावित्रा राना, जानका केसी, सुशीला थापा, गोमा रावत, बिना विसी, निरजा पोख्रेल, सुशीला पौडेल, बालिका लम्साल, कृष्णा राना, द्रोपदा न्यौपानेलगायतले दाबी गर्दै आउनुभएको छ । नेकपा एमालेबाट सीता न्यौपाने, आश्मा चौधरी, हिरा पुनलगायत उपप्रमुखको दौडमा छन् । नेकपा (माओवादी केन्द्र)बाट भीमकुमारी बाढा उपप्रमुखको दौडमा हुनुहुन्छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकामा काँग्रेसबाट सुष्मा गिरी, कमला सापकोटा, पवित्रा धिताल, देवका नेपाली, देवा डाँगी, चित्रा गिरीलगायत तथा एमालेबाट माया आचार्य, रेखा शर्मा विक, भगवती बस्याल, तारा देवकोटालगायतले दाबी गर्नुभएको छ । रासस
प्रतिक्रिया