आरआरमा स्ववियु निर्वाचन सम्पन्न – बम प्रहार गर्नेलाई कार्वाहीको माग


काठमाडौँ, १५ चैत । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेको स्ववियुका निवर्तमान सभापति राजकुमार हमालले जानकारी गराउनुभयो । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो ।

निर्वाचन गराउन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
साँझ ६ बजेबाट छ स्थानमा मतगणना भइरहेको छ । तीन घन्टाभित्र निर्वाचन परिणाम घोषणा गर्ने तयारी रहेको छ ।

आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन भएको हो । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भएको छ ।

यसैवीच नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार सङ्कलनका गरिरहेका पत्रकारलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

महासङ्घका महासचिव उजिर मगर र क्लबका उपाध्यक्ष दीपक गाउँलेले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरी स्वतन्त्रतापूर्वक पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी सङ्गठन र प्रहरीबीच भएको झडपको तस्बिर खिचिरहेका अवस्थामा फोटो पत्रकार श्रीधर पौडेल र केशव थापाप्रति लक्ष्य गरी प्रहार गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस